राष्ट्रिय

आखिर किन उत्रिए राइडरहरु पठाओ विरुद्ध ?

0Shares

काठमाडौं । मोटरसाइकल तथा ट्याक्सी सेयर राइडिङ्ग सेवा ‘पठाओ’ मा विवाद देखिएको छ । सधैँजसो ट्याक्सी व्यवसायीसँग मात्र विवाद हुँदै आएको ‘पठाओ’ को यस पटक आफ्नै कर्मचारी (राइडर) हरुसँग विवाद देखिएको हो ।यतिखेर पठाओका राइडरहरु काम छाडेर कम्पनी विरुद्ध आन्दोलनमा उत्रिएका छन् । कम्पनीले आफु खुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कम्पनीले कामदार मार्ने काम गरेको पठाओ राइडरहरुको आरोप छ ।

‘हामीले कम्पनीसँग अतिरिक्त सेवा सुविधा माग गरेका छैनौं, मात्र सुरक्षा खोजेका हौं । विना सुरक्षा सडकमा निस्कदा हाम्रो जीवनरक्षाको ग्यारेन्टी कसले लिने ? यसको प्रत्याभूति कम्पनीले दिनुपर्छ ।’

सेयर राइडिङ्ग ‘पठाओ’ की एक राइडर सम्झना पाण्डेले भनिन्, ‘अब हामी राइडरहरुसँगै पेसेन्जर (यात्रु) को समेत बीमा हुनुपर्छ । यसका लागि हामीले कम्पनीसँग माग गरेका हौँ । यो कुनै अनावश्यक माग होइन,’ उनले भनिन् ।

अर्का पठाओ राइडर नवराज मालीले पछिल्लो समय कम्पनीले राइडरहरु माथि ज्यादती गर्न थालेको बताए । ‘पठाओले हामी राइडरहरुमाथि मनोमानी गरिरहेको छ । हाम्रो जीउज्यानको सुरक्षाको प्रत्याभूति छैन नै, हाम्रो कमाईमा समेत कम्पनीले लुट मच्चाइरहेको छ,’ मालीले भने, ‘कम्पनीले हामी राइडरहरुसँग अधिकतम २५ प्रतिशतसम्म कमिसन लिइरहेको छ । बाँकी ७५ प्रतिशतले तेल (फ्यूल), खाजा, खाना कसरी म्यानेज गर्ने ?’

यतिमात्र होइन, कम्पनीले आफुखुसी मनलागेको मान्छेलाई सस्पेन्ड (निस्कासन) समेत गर्ने गरेको राइडर मालीको आरोप छ ।

राइडरहरुले अनावश्यक माग राखे : पठाओ

राइडरहरुले विविध ११ बुँदे माग राखेर आन्दोलन चर्काइरहेका बेला ‘पठाओ’ ले भने ‘राइडरहरुको अनावश्यक होहल्ला’ भन्दै उनीहरुका मागको उपेक्षा गरेको छ । कम्पनीको नीति, नियम र अनुशासनमा नरहेका र केही उच्छृङ्खल तत्त्वहरुले कम्पनीलाई बदनाम गर्न लागेको उसको प्रतिक्रिया छ ।

‘अहिलेको आन्दोलन वास्तविक पठाओ राइडरहरुको आन्दोलन होइन । यसमा केही बदमास, कम्पनीको विरोध गर्ने र उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिहरु हाबी भएको पाएका छौँ । केही राइडरहरु भने लहलहैमा पनि आएको पाएका छौँ । हामीले यसलाई गम्भीर रुपमा लिएका छौं,’ पठाओका सञ्चालक अशिममान सिंहले भने ।

उनका अनुसार केही राइडरको गम्भीर र जायज मागहरु कम्पनीले मनन् गरेको छ । तर हुनै नसक्ने, पुरा गर्न नसकिने मागहरुलाई कम्पनीले खारेज गर्ने उनले बताए । ‘अहिले हामी राइडरहरुले राखेका मागहरुको समीक्षा गर्दैछौं,’ सिंहले रातोपाटीसँग भने ।

त्यसो त राइडरहरुले गत सोमबार पठाओ कम्पनीमा आन्दोलनसहित ११ बुँदे मागपत्र पेस गरेका छन् । राइडर र पेसेन्जरको अनिवार्य इन्सुरेन्स हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाईको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरहरुलाई निलम्बन गर्नु पूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्रि हुनुपर्ने, बीपीजी सस्पेन्ड हटाउनु पर्ने, स्पेन्ट रेकर्ड राख्नु पर्ने, राइडर र युजर पेजेन्जर दुबैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग उनीहरुले राखेका छन् ।

सो माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले सोमबार कम्पनीलाई अल्टिमेटम दिएका छन् ।

0Shares