खेलकुद

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

0Shares

काठमाडौ,साउन १९ : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए । पारसले सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए । सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए । १० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ ।
उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी-२० अन्तर्राष्ट्रिय र ट्वान्टी-२० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन् । उनले १० खेलबाट ३१५ रन बनाएका छन् । त्यस्तै उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ७९९ र ट्वान्टी-२० मा ५६ खेलमा १ हजार ३ सय ७७ रन बनाएका छन् । ३३ वर्षे उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी हुन् । उनकै कप्तानीमा नेपालले २०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेलेको थियो भने २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

0Shares