पुंजीबजार

हाइड्रोपावर कम्पनीहरू हकप्रद र लाभांश घाेषणा गर्दै

0Shares

काठमाडौ,भाद्र २५: तातेको बजारलाई थप तताउने मनसायले जलविद्युत परिसूचक उच्च विन्दुमा रहेको बेला जलविद्युत कम्पनीहरुले हतार हतार लाभांश र हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन्। नेपालको शेयर बजार, बोनस शेयर र हकप्रद घोषणाले उचालिने हुँदा जलविद्युत कम्पनी सञ्चालकले साधारण लगानीकर्ताको सोही सेन्टिमेन्टलाई ‘क्याच’ गर्न खोजेको देखिन्छ।साधारणतया जलविद्युत कम्पनीहरुले दशैं तिहार पछि मात्र साधारण सभा गर्ने गरेको भए पनि पछिल्लो समय भदौदेखि नै धमाधम लाभांश घोषणा गर्न थालेका हुन्। ऊर्जा नियमन आयोगले जलविद्युत कम्पनीलाई कम्पनीको ऋण तिर्न पनि हकप्रद शेयर निष्काशन गर्न दिने सम्बन्धी मस्यौदामा राय सुझावको लागि आह्वान गरेपछि यस्ता कम्पनीका शेयरको माग बढ्न थालेको हो।

सोही निहुँमा बढ्न थालेको बजारमा हालसम्म ५ वटा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन्। अधिकांशले सञ्चित नाफा समेतलाई जोडेर उच्च लाभांश घोषणा गरेका हुन्। लाभांशमा पनि बोनस शेयरलाई प्राथमिकतामा राखेका छन्। बोनसको साथमा अधिकांशले हकप्रद शेयर समेत दिने घोषणा गरेका छन्। हकप्रद शेयर घोषणामा समेत प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म सबैभन्दा बढी ङादी ग्रुप पावरले १ बराबर २ को अनुपातमा हकप्रद घोषणा गरेकाे छ भने अरुण काबेलीले १ बराबर १ को अनुपातमा घोषणा गरेको छ। सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २ बराबर १ को अनुपातमा हकप्रद शेयरको घोषणा गरेका छन्। सबैभन्दा कम अपि पावरले ३९ प्रतिशत हकप्रद निष्काशन गर्ने घोषणा गरेको छ। विद्युत नियमन आयोगले भने जलविद्युत कम्पनीले हकप्रद घोषणा गरे पनि आयोगबाट स्वीकृति पाउने/नपाउने भने अझै निश्चित नभएको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले बताए। आयोगले ऋण तिर्नलाई हकप्रद दिनेसम्बन्धी निर्देशिका हालसम्म नबनेकोले सचेत भएर लगानी गर्न आग्रह गरे।यसअघिको बुलमा अपि पावरले १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका थिए। तत्कालीन बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीले हकप्रदको रकमको प्रयोजन खुलाएर मात्र निवेदन दिन भनेपछि बोर्डले एकैचोटी १ बराबर २ को अनुपातमा हकप्रद निष्काशन गर्न नदिएर आंशिक रुपमा क्रमैसँग हकप्रद निष्काशन गर्न स्वीकृति दिएका थिए। सोही अनुसार नै अपीले पछिल्लोपटक ३९ प्रतिशत हकप्रद शेयर घोषणा गरेको हो। अपी पावरको शेयर प्रति कित्ता ९ सय रुपैयाँसम्म पुगेको थियो।

0Shares