आजदेखि कोरोनाविरुद्धको खोपअभियान सुरू
काठमाडौ माघ १४ : सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियानको सुरुवात बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीबाट बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत गरिएको छ । अभियानको उद्घाटनसंगै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोनाविरुद्धको खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिनकालागि आफूले शुरुमै खोप लगाएको बताए। उनीसँगै डा. अनुप बाँस्तोला र डा. रुना झाले पनि कोरोना खाेप लगाएका छन् ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र करिब १७ केन्द्र र देशभर गरी कूल १२० केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउन सुरू गरिएको छ।सरकारले प्रदेशहरूमा खोप र आवश्यक बजेट पनि पठाइसकिएको छ।
आगामी दश दिनभित्र सबै जिल्लामा कोरोनाविरूद्ध खोप सम्पुर्ण अग्रमोर्चामा खटिएकाहरूलाई लगाउने मन्त्रालयको भनाइ छ। पहिलो चरणमा चार लाख जनाभन्दा बढीलाई खोप लगाउने सरकारले तयारी गरेको छ। खोप लगाउने भएपछि स्वास्थ्यकर्मीहरू खुसिभएका छन्।