खेलकुद

एसियन कप २०२३ छनोटमा घरेलु मैदानका तीनै खेल दर्शकसहित सञ्चालन गर्ने तयारी

0Shares

काठमाडौँ माघ ७: कोरोना भाइरसको महामारीले विश्व फुटबललाई अस्तव्यस्त बनाइरहेको बेलामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा घरेलु मैदानका तीनै खेल दर्शकसहित सञ्चालन गर्ने भएको छ । उक्त छनोटका तीन खेलको टिकट बिक्रीबाट १ करोड १० लाख रुपैयाँ आम्दानी गर्ने एन्फाले आर्थिक वर्ष २०७७–७८ को बजेटमा उल्लेख गरेको छ ।एन्फाले आर्थिक वर्ष २०७७–७८ को ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको बजेटमा २ करोड ७० लाख खेलको टिकट बिक्रीबाट आम्दानी गर्ने लक्ष्य राखेको छ । फिफा र एएफसीको अनुदानमा आधारित उक्त बजेटलाई मंगलबार सम्पन्न एन्फाको १९ औं साधारणसभाले पारित गर्‍यो ।

एन्फाले तीन मैत्रीपूर्ण खेल आयोजना गर्ने र टिकट बिक्रीबाट १ करोड आम्दानी गर्ने पनि बजेटमा उल्लेख गरिएको छ । त्यस्तै, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग तथा राष्ट्रिय लिगको टिकट बिक्रीबाट ६० लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।‘विश्वकप छनोटमा दर्शकसहितको खेल आयोजना गर्दैर्छौं,’ कोरोना महामारीका कारण ठप्प भएको विश्व फुटबलको प्रतिस्पर्धा फर्किए पनि कतै आंशिक र कतै पूर्ण रूपमा दर्शकलाई प्रवेश दिइरहेको सन्दर्भमा एन्फाका प्रवक्ता किरण राईले भने, ‘दशरथ रंगशालाको क्षमताअनुसारै हामीले खेलमा दर्शकलाई प्रवेश दिएर आम्दानी गर्ने प्रस्ताव गरेका हौं ।’ १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मर्मतसम्भार र स्तरोन्नति गरिएको दशरथ रंगशाला १५ हजार ६ सय दर्शक क्षमताको छ । एन्फा कम्प्लेक्स करिब २ हजार दर्शक क्षमताको छ ।

0Shares