राष्ट्रिय

चक्रपथका बिजुली बसमा ज्वरो जाँचेर मात्रै प्रवेश !

0Shares

काठमाडौंका सडकमा गुड्ने सार्वजनिक यातायातमा ज्वरो जाँचेर मात्र प्रवेश गर्न पाइन्छ भन्दा पत्याउनु हुन्छ? एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा त बल्ल सुरू भएका बेला बसमा के हुन्छ भन्नुहोला।

तर अब चक्रपथमा गुड्ने बिजुली बसमा ज्वरो जाँचे ठीक छ भने मात्रै चढ्न पाइने भएको छ। चक्रपथमा दुइटा बिजुली बस सञ्चालन गरिरहेको सुन्दर यातायातले यो काम सुरू गर्न लागेको हो।

संसार कोरोना भाइरसले आक्रान्त भइरहेका बेला नेपाली पनि समयमै सचेत हुनुपर्ने भएकाले गाडीमा ज्वरो जाँच्न लागिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। यसनिम्ति चार वटा ‘थर्मोमिटर’ ल्याइएको उनले बताए।

‘हाम्रा गाडी उत्पादक चिनियाँ कम्पनी बिएकेले आफ्नो कम्पनीका गाडी भएका सबै देशका वितरकलाई यात्रुको ज्वरो जाँच्न ‘इन्फ्रारेड थर्मोमिटर’ पठाएको रहेछ। हामीलाई पनि चार वटा पठायो,’ ‘बुधबार हामी टेकु अस्पताल गएर मान्छेको शरीरमा हुनुपर्ने तापक्रम, कोरोनाका लक्षण लगायत बुझेर बिहीबारबाटै सुरू गर्न सक्छौं।’

ज्वरो जाँच्नका लागि प्रत्येक बसमा १-१ जना कर्मचारी समेत राखिने उनले जानकारी दिए।

‘हामी स्वास्थ्य सम्बन्धी पढेका २ जनालाई एप्रोन, माक्ससहित सुरक्षित तरिकाले गाडीमा खटाउछौं। कसैको शरीरमा तापक्रम धेरै देखिए उनीहरूले नजिकको अस्पताल जान सुझाउँछन्। ज्वरो आएको भए गाडीमा चढ्न पाइँदैन। अवस्था यस्तो छ, अरू यात्रुको हितका लागि यसो गर्न लागेका हौं,’ थापाले भने।

ज्वरो जाँचेर प्रवेश गराउँदा अलि समय लागे पनि कोरोना त्रास रहुन्जेल जाँचिने उनले बताए।

‘हामी एउटा ढोकाबाट चढ्ने र अर्को ढोकाबाट झर्ने मात्रै बनाउँछौं। यसले गर्दा चढ्नेहरू उभिएर ज्वरो जाँच्न सजिलो हुन्छ। बरू गाडी एक चक्कर कम गुडाउन सकिएला। यसले राम्रो सन्देश पनि दिन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले थपे।

बिएके कम्पनीले चीनका विभिन्न सहर तथा आफ्ना गाडी चल्ने थाइल्यान्ड, मकाउ, अमेरिका लगायत देशमा पनि यस्ता ‘इन्फ्रारेड थर्मोमिटर’ पठाइसकेको थापाले जानकारी दिए।

Source: Setopati

0Shares