राष्ट्रिय

प्रधानमन्त्री ओली दाङ जाँदै

0Shares

काठमाडौ माघ १२ :  प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुलको उदघाटन दिउँसो १२ बजे गर्ने र दिउँसो १ बजे लालमटियामा हुने आमसभालाई सम्बोधन गर्ने कायक्रम रहेको छ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल तोकिएको समयभन्दा चार महिनाअघि नै निर्माण सम्पन्न भएको हो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँलागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता थियो ।

यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।यती मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ । दाङ जिल्ला भित्रबाट मात्रै नभएर बाहिरी जिल्लाबाट समेत पुल अवलोकन गर्न मानिसहरु यहाँ आउने गरेका छन् ।

पुल नहुँदा सिसहनियाँ–महदेवा वारपार गर्न डुंगामा जोखिम मोल्नुपर्ने बाध्यता थियो । राप्तीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल पनि सहभागी हुने बस्नेतले जानकारी दिए ।

0Shares