भारतमा एकैदिन तीन लाख ४९ हजार कोरोना संक्रमित
काठमाडौ,वैशाख १२ : भारतमा कोरोना भाइरसका संक्रमित र मृतक दैनिक बढिरहेको छ। शनिबार अहिलेसम्मकै बढी संक्रमित र मृतक थपिएका छन् । शनिबार ३ लाख ४८ हजार ९७९ संक्रमित थपिएका छन्। यो संख्या कुनै पनि देशको एकै दिनको सबैभन्दा बढी हो। त्यस्तै २ हजार ७६१ जनाको ज्यान गएको छ । यो एकैदिन थपिएको भारतको सबैभन्दा बढी हो । यसअघि शुक्रबार ३ लाख ४५ हजार भन्दा बढी संक्रमित थपिए। त्यसैगरी २ हजार ६२० जनाको ज्यान गयो। बिहीबार ३ लाख ३२ हजार ५०३ जना संक्रमित थपिएका थिए। बिहीबार २ हजार २५६ जनाको ज्यान गयो। बुधबार भारतमा ३ लाख १५ हजार ८०२ जना संक्रमित थपिएका थिए। त्यसैगरी बुधबार २ हजार १०२ जनाको ज्यान गएको थियो।
योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ। भारतमा सक्रिय संक्रमित बढेर २६ लाख ७४ हजार २८७ पुगेका छन्। यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । मृतकको स्थिति पनि भयावह बन्दै गएको छ। मृतकको दर पनि उच्च पुगेको छ। शनिबार २ हजार ७६१ जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउने १ लाख ९२ हजार ३१० पुगेको छ। शनिबार २ लाख १५ हजार ८०३ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म १ करोड ४० लाख ७८ हजार ८१ जना संक्रमणमुक्त भएका छन्। तर यीमध्ये पनि कतिपयलाई पुनः कोरोना भएर ज्यानैसमेत गएको छ ।