भारतलाई हराउँदै न्युजिल्याण्ड बन्यो विश्व च्याम्पियन
काठमाडौ,असार १० : न्युजिल्याण्ड पहिलो आईसीसी टेष्ट क्रिकेटको विश्व विजेता बनेको छ। फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो विश्व विजेता बनेको हो । ईङल्याण्डको साउथ्याम्पटममा भएको खेलमा न्युजिल्याण्डले उक्त उपाधि हात पारेको हो । वर्षाले प्रभावित फाइनलको ‘रिजर्भ’ दिनमा न्युजिल्याण्डले उपाधि जितेको हो । वर्षाले पटक-पटक अवरोध गरेको फाइनलमा कुल ३ सय ९ ओभर बलिङ भएको थियो । पाँच दिनमा खेल पूर्ण हुन नसकेपछि छैटौं दिन ‘रिजर्भ’ दिन भनेर राखिएको थियो ।
टस जितेर पहिले फिल्डिङ गरेको न्युजिल्याण्डले पहिलो परीमा भारतलाई २ सय १७ रनमा समेटको थियो । न्युजिल्याण्डका काइल जेमिसनले ५ विकेट लिंदै आफ्नो टोलीलाई सहज स्थितिमा पुर्याएका थिए । भारतका लगि अजन्के रहाणेले ४९ रन बनाएका थिए । न्युजिल्याण्डले आफ्नो पहिलो पारीमा २ सय ४९ रन बनाएको थियो । डेभोन कोनवेले सर्वाधिक ५४ रन बनाएका थिए भने कप्तान केन विलियमसनले ४९ रनको योगदान गरेका थिए । भारतका मोहम्मद सामीले ४ तथा ईशान्त शर्माले ३ विकेट लिएका थिए । दोस्रो पारीमा भारत १ सय ७० रनमा समेटिएको थियो। भारतलाई सस्तोमा रोक्ने क्रममा टिम साउदीले ४ तथा ट्रेन्ट वोल्टले तीन विकेट लिएका थिए । भारतका लागि रिसव पन्तले सर्वाधिक ४१ रनको योगदान दिएका थिए । दोस्रो पारीमा जितका लागि आवश्यक रन केन विलियमसन र रस टेलरले आउट नभई बनाउँदै आफ्नो टोलीलाई जित दिलाएका थिए । विलियमसनले ५२ रनको योगदान दिंदा टेलरले ४७ रन बनाएका थिए । न्युजिल्याण्डका काईल जेमिसन प्लेयर अफ फाइनल घोषित भएका थिए ।