वायुसेवा निगमले हवाई भाडा घटायो
काठमाडौ,जेठ २४ : नेपाल आयाल निगमले हवाइ इन्धनको मूल्य घटाएसँगै नेपाल वायुसेवा निगमले हवाई भाडा घटाएको छ । आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशतले कटौती गरेसँगै नेपाल एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी मूल्य कटौती गरेको हो । नेपाल एयरलाइन्सले सोमबार एक विज्ञप्ति जारी गर्दै वाइड बडीको भाडा १३ प्रतिशत र न्यारो बडी विमानको भाडा १५ प्रतिशतले कटौती गरेको जनाएको छ । जसअनुसार वाइड बडी विमानको भाडा यसअघि कायम रहेको प्रतिघण्टा १५ हजार ५२० डलरबाट २ हजार ६० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा १३ हजार ४६० डलर कायम गरेको छ ।
साथै न्यारो बडीको भाडा प्रतिघण्टा ७ हजार ७१० डलरबाट १ हजार १३० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा ६ हजार ५८० डलर कायम गरेको छ । स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरुको गुनासोपछि भएको छलफलपछि प्राप्त सुझाव अनुसार आइतबार राति १२ बजेदेखि लागु हुने गरी हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ साविकको बिक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलो लिटरमा १७८ ले घटाई नयाँ बिक्री मूल्य अमेरिकी डलर ७१५ राखिएको आयाल निगमले जनाएको छ । आयल निगमले अन्तर्राष्ट्रिय हवाई भाडामा अधिकतम २० प्रतिशतसम्म मूल्य एकैपटक घटाएसँगै वायुसेवा निगमले समेत हवाई भाडामा समायोजन गरेको हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार भन्दा नेपालमा केही महंगो भएपनि अहिल यो विषम परिस्थितिमा इन्धनको मूल्य २० प्रतिशतले कटौती हुँदा निगमलाई त्यस्तो तात्वीक असर पर्दैन् । उनले भने, ‘हवाई इन्धनको मूल्य घटाउँदा आयल निगमलाई घाटा हुँदैन तर कोभिडको विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्बन्धित निकायको आग्रह अनुसार मूल्य घटाउँदा समग्र देश र यात्रुलाई फाइदा पुग्छ । उनले अगाडी भने,‘हवाई इन्धनको मूल्य घटाउँदा हाम्रो व्यापार बढ्छ, नाफा घट्दैन । त्यो भन्दा पनि अन्तर्राष्ट्रिय उडानमा भइरहेको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेका हौं ।’