शेरबहादुर देउवा र माधव नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता
काठमाडौ,वैशाख २३ : आज साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। भेटवार्ताका लागि नेता नेपाल देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाएका छन् । सो बैठकमा ओलीलाई असफल बनाउनका लागि रणनीति तय गर्न भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएकाे छ ।
यसअघि हिजो मात्रै देउवासँग भेटेर ओलीले विश्वासको मत दिन आग्रह गरेका थिए। सो भेटमै देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् । अर्कोतर्फ हिजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । सो छलफलमा देउवासँग मिलेर ओलीलाई बहुमत पुग्न नदिनेगरी रणनीति तय गर्ने निर्णय भएको थियो ।