२०७६ सालको एसइई परीक्षा विद्यालयको मूल्याङ्कनका आधारमा गरिने
सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा पुरानो परिपाटी अनुसार नलिने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले लिएको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता दिई यस पटक एसईई परीक्षा नलिने निर्णय लिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जारी बन्दाबन्दी तथा विद्यालयहरुमा क्वारेन्टाइन बनाइएका कारण विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ, यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने छन् ।’विद्यालयको आन्तरिक मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरी यस पटकका लागि एसईईको परीक्षाको निकास निकालिने भएको छ ।
सरकारको निर्णयपछि अव विद्यालयले नै विद्यार्थीको एसईईको मूल्याङ्कन गरी ग्रेड समेत निर्धारण गर्ने बाटो खुलेको छ भने पुरानो परिपाटीबाट परीक्षा नहुने स्पष्ट भएको छ । सरकारको यो निर्णयसँगै एसईई परीक्षाका बारेमा लाखौँ विद्यार्थी तथा अभिभावकमा रहेको अन्यौल हटेको छ ।
यस विषयको प्रस्ताव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबारको मन्त्रिपरिषद्को बैठकमा लगेको थियो । यसअघि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि चैत ६ गतेबाट सञ्चालन हुने गरी तयारी गरिएको एसईई परीक्षा चैत ५ गते रोक्ने निर्णय गरिएको थियो ।
यसपटक झण्डै चार लाख ८२ हजार परीक्षार्थीले सहभागिता जनाउँदै थिए । परीक्षाका लागि एक हजार नौ सय पन्चानब्बे वटा परीक्षा केन्द्र तय गरिएको थियो भने प्रश्नपत्र समेत सम्वद्ध स्थानमा पुर्याइएको थियो । तर अन्तिम समयमा आएर परीक्षा रोकिएको थियो ।