राष्ट्रिय

अबको सरकारमा जसपा कता जाला

0Shares

काठमाडौ,वैशाख २: प्रधानमन्त्री केपी शर्मा ओली थप शक्तिशाली बन्दै गएका बेला नेपाली कांग्रेस र माओवादी केन्द्रले घेराबन्दी शुरु गरेका छन् । दिनप्रतिदिन प्रधानमन्त्री ओली थप प्रतिगामी गएको भन्दै एमालेको खनाल–नेपाल पक्ष पनि उनीविरुद्ध खनिएको छ ।एमाले खनाल–नेपाल पक्षले देशैभर समानान्तर कमिटी समेत गठन गरिसकेको छ । प्रधानमन्त्री ओली आफू सत्तामा रहिरहनका निम्ति जनता ससमाजवादी पार्टी, नेपालको साथ लिन खोजिरहेका छन् । जसपा भने अहिले नगदानगदीमा मात्रै विश्वास गर्ने पक्षमा छ ।धेरै पटक विभिन्न दलले दिएको आश्वासनबाट आजित बनेको जसपाले अब चेकमा विश्वास नगर्ने अड्डी कसेको छ । जसपाले कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे आधिकारिक धारणा तय नगरेपनि प्रतिगामीको मतियार बन्न नससकिने निष्कर्षमा छ ।

जसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार जसपा अरुको नेतृत्वको सरकारमा जान्छ तर, आफ्नो नेतृत्वमा सरकार बनाउँदैन । जसपाले आफ्नो नेतृत्वमा सरकार सञ्चालन गर्न नसक्ने उनको तर्क छ ।प्रधानमन्त्री ओलीले जसपालाई टुक्र्याएर भएपनि सत्ता लम्ब्याउन खोजेका छन् । तर, जसपा कुनै हालतमा टुक्रिने पक्षमा छैन ।यता, नयाँ सत्ता समीकरण निर्माणका लागि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । महाराजगन्जस्थित देउवाका ससुराली नाता पार्ने प्रमोद राणाको निवासमा उनीहरुबीच भेटवार्ता भएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।देउवासँग आज अपरान्ह जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पनि भेटवार्ता गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासबाट साढे पाँच बजे बाबुराम र उपेन्द्र निस्किएका थिए । त्यसपछि देउवा र प्रचण्डबीच राति ९ बजे सत्ता समीकरणकै विषयमा छलफल भएको छ ।जसपा अध्यक्ष उपेन्द्र र बाबुरामले प्रधानमन्त्री केपी ओलीको विकल्प दिन आफूहरु तयार रहेको बताएका थिए । उनीहरुले सरकारको नेतृत्व लिन काँग्रेस अग्रसर नभए आफूलाई साथ दिन पनि देउवालाई आग्रह गरेका थिए । स्रोतका अनुसार देउवाले उनीहरुसँग सरकार बन्ने आधार मागेका थिए ।

0Shares