अन्तराष्ट्रिय

अमेरिकी निर्वाचित राष्ट्रपतिको जितलाई आधिकारिकता प्रदान गर्न रोक्ने प्रयास

0Shares

काठमाण्डौ, पुस १९ : अमेरिकामा रिपब्लिकन सिनेटरहरु राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने अन्तिम प्रयासमा लागेका छन् । नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीरेका छैनन् । नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने दिन जनवरी २० तारिख नजिकिँदै गर्दा रिपब्लिकन सिनेटरहरु आधिकारिकता नदिने अन्तिम प्रयासमा लागेका बीबीसीले जनाएको छ ।

ट्रम्पको आरोपलाई पछ्याउँदै जिम्मेवारीमा रहेका तथा नवनिर्वाचित केही रिपब्लिकन सिनेटरहरुले इलेक्टोरल कलेज मत सदनबाट हुने प्रमाणीकरणमा नमान्ने बताएका खबरमा उल्लेख छ । टेड क्रुजको नेतृत्वमा ११ सिनेटर तथा निर्वाचित सिनेटरहरुले चुनावमा धाँधली भएको आरोप सम्बन्धमा आयोग गठन नगरिएसम्म जो बाइडेनको जितलाई प्रमाणीकरण नगर्ने बताएका छन् । उनीहरुले सदनबाट हुने प्रमाणीकरणका लागि १० दिन ढिलाइ गरिनु पर्ने बताएका खबरमा उल्लेख छ ।

सदनले जनवरी ६ मा बाइडेनको जितलाई प्रमाणीकरण गर्ने तालिका छ । टेड क्रुजसहितका ११ सिनेटर तथा निर्वाचित सिनेटरहरुले अवरोध गर्ने बताए पनि त्यसले सफलता पाउने सम्भावना भने छैन । हार स्वीकार नगरेका राष्ट्रपति ट्रम्पको कानुनी प्रयासहरुलाई भने अदालतहरुले खारेज गरिदिइसकेका छन् । बाइडेन तीन सय छ इलेक्टोरल कलेज मत पाएर विजयी बनेका हुन् । ट्रम्पले २३२ इलेक्टोरल कलेज मत मात्रै प्राप्त गरे ।

0Shares