खेलकुद

अष्ट्रेलियाबाट न्युजिल्याण्ड क्रिकेट टोली फर्किदै

0Shares

अष्ट्रेलिया भ्रमणमा रहेको न्युजिल्याण्ड क्रिकेट टोली भ्रमण छोट्याएर आइतबार नै घर फर्किने भएको छ । न्युजिल्याण्ड तीन म्याचको च्यापल हेडली एकदिवसीय श्रृखंला खेल्न यसैसाता अष्ट्रेलिया पुगेको थियो । लगत्तै अष्ट्रेलियाले न्युजिल्याण्ड पुगेर तीन म्याचको टी ट्वान्टी श्रृखंला खेल्ने तय गरिएको थियो । अब भने दुबै श्रृखंला रोकिएको छ । 
न्युजिल्याण्ड सरकारले यात्रामा प्रतिबन्ध लगाएपछि अष्ट्रेलियामा रहेको क्रिकेट टोली घर फर्किन लागेको हो । न्युजिल्याण्डले अष्ट्रेलियासँग जोडिएको सीमा क्षेत्रमा सतर्कता समेत बढाएको छ । उक्त प्रतिबन्ध सोमबारदेखि लागू हुनेछ । आइतबारसम्म न्युजिल्याण्ड फर्किन नसक्नेले पछि फर्किए १४ दिनसम्म ‘सेल्फ आइसोलेशन’मा बस्नुपर्नेछ ।
दुबै टोलीले शुक्रबार सिड्नी क्रिकेट ग्राउण्डमा दर्शकको अनुपस्थितिमा पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलेको थियो । यात्रामा प्रतिबन्धपछि अष्ट्रेलियाको न्युजिल्याण्ड भ्रमण पनि अनिश्चित बनेको छ ।
कोरोना भाइरस संक्रमणको त्रासमा यूरोपेली राष्ट्रमा भ्रमण, यात्रा प्रतिबन्ध लगाइएको छ । अष्ट्रेलियामा समेत भाइरस संक्रमणको पुष्टि भएपछि न्युजिल्याण्डले सतर्कता अपनाउन थालेको हो ।

Source:Gorkhapartaonlinekhabar.com

0Shares