राष्ट्रिय

आईसीयू र भेन्टिलेटर बेड भरिँदै

0Shares

काठमाडौ,वैशाख १३: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले कोभिड सङ्क्रमितबाहेक अन्य बिरामीको उपचार भइरहेको छैन । अस्पतालमा भएका २० ओटा आईसीयू बेड बिहीबारसम्म सबै भरिएका थिए । अहिले भेन्टिलेटर र आईसीयूमा रहेकामध्ये ४० प्रतिशत जटिल खालका सङ्क्रमित रहेको अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप वास्तोला बताउँछन् ।“आईसीयू बेड पनि भरिँदै छन् र जटिल खाले सङ्क्रमित पनि थपिँदै छन् । औषधिले काम गर्छ कि गर्दैन भन्ने अवस्था छ, अरू बिरामी थपिए कहाँ राख्ने संकटमा छौँ,” डा. बास्तोलाले भने, “अब व्यक्ति आफ्नै स्तरबाट सुरक्षित रहेन भने अस्पतालले थेग्नसक्ने अवस्था छैन ।” यता त्रिवि शिक्षण अस्पतालमा कोभिड सङ्क्रमितका लागि छुट्याइएकामध्ये ८० प्रतिशत बेड भरिसकेका छन् । अस्पतालमा कोभिड उपचारका लागि छुट्याइएका ५० मध्ये ४० ओटा बेडमा सङ्क्रमित छन् भने ५ जना आईसीयूमा छन् । अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेकाअनुसार श्वासप्रश्वासका गम्भीर अस्थाका बिरामीका लागि ३० ओटा आईसीयू बेड छुट्याइएकोमा कोभिड सङ्क्रमित दिनदिनै थपिरहेका छन् ।

“आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने सङ्क्रमित थपिँदै गएपछि भारतबाट थप आईसीयू उपकरण मगाइएको छ । तर पछिल्लो समय भारतमा नै सङ्क्रमितको दर बढ्दै गएपछि मगाएका उपकरण आउन ढिलाइ भइरहेको छ,” डा. काफ्लेले भने, “आइसकेका उपकरण जडान गर्ने र थप गर्ने काम भइरहेको छ, कोभिड संक्रमणलाई नै लक्षित गरेर टिचिङमा अहिले आईसीयू सेवा विस्तार गर्दैछौँ । तर यही दरमा सङ्क्रमित बढ्दै गए अस्पतालमा छुट्याइएका बेडले धान्नसक्ने अवस्था रहँदैन । त्यसपछि अन्य रोगका बिरामीलाई व्यवस्थापन गर्न अस्पताललाई कठिन हुनेछ ।” सामान्यतया अक्सिजनको मात्रा ९२ प्रतिमिनेटभन्दा कम रहेका बिरामीलाई आईसीयू भर्ना गर्नुपर्ने हुन्छ । कोभिड संक्रमणले श्वासप्रश्वासमा अवरोध पुर्‍याउने हुँदा दीर्घकालीन रोग भएकाहरूलाई कोभिड संक्रमण देखिएमा आईसीयूमा राख्नुपर्ने सम्भावना बढी हुन्छ । “फोक्सोमा गम्भीर असर देखिएका बिरामीलाई आईसीयू र भेन्टिलेटरमा भर्ना गर्ने गरेका छौँ । तर आइसोलेसनमा आउने सङ्क्रमितको संख्या पनि उत्तिकै बढेको छ ।” डा. काफ्लेले भने । त्यस्तै वीर अस्पतालमा कोभिड सङ्क्रमितका लागि छुट्याइएका १० मध्ये ४ ओटा आईसीयू बेड भरिएका छन् भने ५ ओटा भेन्टिलेटर छुट्याइएकोमा ३ ओटामा कोभिड सङ्क्रमितको उपचार भइरहेको अस्पतालका कोभिड इन्चार्ज डा. अच्युत पन्तले बताए । मुलुकका प्रमुख सरकारी अस्पतालहरूमा जटिल अवस्थाका सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ । त्यसैगरी जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र आफ्नो स्वास्थ्यप्रति आफैँ सतर्क रहन भनेर स्वास्थ्य मन्त्रालयले निरन्तर अनुरोध गर्दै आएको छ ।

0Shares