राष्ट्रिय

आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै

0Shares

काठमाडौ,वैशाख १८ : आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरे पनि यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण ठूला कार्यक्रम आयोजना गरिएको छैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । नयाँ कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदूर दिवस मनाइएको थियो । अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदूरमाथि व्यापक दमन ग-यो । प्रहरीको गोली लागेर सात मजदूरको मृत्यु भयो । मजदूर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो । विश्वका मजदूरले सो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

0Shares