राष्ट्रिय

आज बुटवलमा नेकपा (प्रचण्ड-माधव समूह)ले विरोध सभा गर्दै

0Shares

काठमाडौ माघ १५ : आज बुटवलमा प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो ।

दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानाकारी दिनु भयो । मौसमका कारण उडानमा केहि खराबी भएमा प्रचण्ड र नेपाल हेलिकोप्टरमार्फत बुटवल आउने कार्यक्रम रहेको छ ।

सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । सभामा लुम्बिनी अञ्चलका ६ वटै र नजिकका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकले दावी गरेको छ ।

गोलपार्कबाट शुरु हुने जुलुसको नेतृत्व केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्नेछन् । राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले तथा जितगढी किल्लाबाट शुरु हुने जुलुसको नेतृत्व स्थायी समिति सदस्य चक्रपाणी खनाल (बलदेव), ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् ।

जुलुसका सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको छ। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र प्रतिगामी कदम भएकाले यसविरुद्ध आयोजित सभामा हरेक वर्ग, तह र तप्काबाट सहभागी हुन सो समूहले विज्ञप्ति निकालेर आह्वान गरेको छ ।

0Shares