खेलकुद

इङ्गल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश

0Shares

काठमाडौ,असार २४: इङ्गल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । १६ औं संस्करणको युरोकपको सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड फाइनलमा पुगेको हो । बुधबार राति घरलु मैदानमा भएको सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्डले कीर्तिमान रचेको हो । वेम्बली स्टेडियममा १ गोलले पछि परेको इङ्गल्याण्डले कमब्याक खेलमा जित निकालेको हो । रोमान्चक बनेको खेलको ३० औं मिनेटमा २१ वर्षे युवा खेलाडी मिकेल डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।
त्यसको ९ मिनेटपछि डेनमार्कका कप्तान सिमोन जाएरले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । इङ्गल्याण्डका बुकायो साकाको क्रसमा सिमोनले आफ्नै पोस्टमा गोल गरेका थिए ।निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमै खेल रह्यो । खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान ह्यारि केनले गोल गर्दै इङ्गल्याण्डलाई २–१ को जित दिलाए । उनले आफैंले हानेको पेनाल्टीमा गोल गर्न नसके पनि रिबाउन्डमा गोल गरेर टिमलाई पहिलो पटक फाइनलमा पुर्याए । इङ्गल्याण्ड सन् १९६६ मा विश्वकप जितेपछि कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सकेको थिएन ।

0Shares