खेलकुद

इराकसँग नेपाल ६–२ ले पराजित

0Shares

काठमाडौ,जेठ १६ : इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोलले पराजित भएको छ । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलको सातौं मिनेटमा घरेलु टिमले अग्रता लिएको थियो । उसका लागि कप्तान अली अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरे । एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो । आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका अब्राहम खलाफले आफ्नै पोस्टमा गोल गरेका थिए ।
३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लियो । सन्तोष तामाङको पासलाई डाँगीले इराकका गोलरक्षक अघि बढेको अवस्थामा गोल गरेका थिए । ४० मिनेटसम्म २-१ ले अग्रता लिएको नेपालले त्यसपछि पहिलो हाफमा तीन गोल खान पुग्यो । ४० मिनेटमा इराकले बराबरी गोल फर्कायो । कर्नरमा मोहमद अब्दुल्जारा हेडमार्फत बराबरी गोल गरेका थिए । अर्को मिनेटमा इराकले तेस्रो गोल गर्‍यो । अयमन हुसेनले तेस्रो गोल गरेका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे । दोस्रो हाफमा इराकले थप दुई गोल गर्‍यो । ६८ मिनेटमा सुमन अर्यालको ब्याक पास मिस हुँदा अली अलसम्मारीले इराकका लागि पाँचौ गोल गरे । ७४ मिनेटमा सज्जदा जसमिले डिबक्सबाट उत्कृष्ट गोल गर्दै इराकको अग्रता ६-२ मा पुर्‍याएका थिए । नेपालले आगामी साता कुवेत हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपाल इराकबाट छनोट प्रतियोगिता खेल्ने कुवेत प्रस्थान गर्नेछ । एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो । पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा पनि नेपाल भन्दा १०३ माथि छ । इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ ।

0Shares