कृषि

उखु किसानले आफ्नो धारणा सरकारलाई पठाउँदै, जवाफ अनुसार आन्दोलनलाई अघि बढाउने:

0Shares

काठमाडौं, ९ पुस आन्दोलनरत उखु किसानले सहमतिको लागि बिहीबार सरकारलाई आफ्नो धारणा पठाउने भएका छन् । उखुको बक्यौता रकम माग गर्दै १२ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका किसानले उद्योग मन्त्रालयलाई आफ्नो धारणा पठाउने भएका हुन् । भुक्तानीको सुनिश्चिततासहित सरकारले सहमतिको लागि बोलाए वार्तामा जाने उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले बताए । बिहीबार मन्त्रालयलाई आफूहरुको धारणा पठाउने र सरकारको जवाफ कस्तो आउँछ त्यहीअनुसार आन्दोलनलाई अघि बढाउने पनि उनले बताए । भुक्तानी सुनिश्चितताका लागि किसानहरुले अहिले धारणा तय गर्दैछन् । पछिल्लो राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन छायामा परेको छ । यसअघि २०७६ पुस १८ गते उखु किसानसँग भुक्तानी दिने सहमति गरे पनि एक वर्ष बितिसक्दा समेत किसानले अझै उखुको पैसा पाएका छैनन् । आन्दोलनरत किसानले यसअघि राज्य कोषबाट किसानलाई तत्काल भुक्तानी दिन र उद्योगीबाट ब्याजसहित असुल उपर गर्न सरकारलाई आग्रह गरेका थिए ।

0Shares