राष्ट्रिय

उद्घाटन कार्यक्रम मै ब्यस्त प्रधानमन्त्री

0Shares

काठमाडौ,फागुन १८: प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार झापा र मोरङका दुई छुट्टा छुट्टै कार्यक्रममा सहभागी हुने भएका छन्। आइतबारमात्र झापाको दमक, कमल र गौरादह नगरपालिकाका पाँच वटा कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका प्रधानमन्त्री ओली फेरि झापा जान लागेका हुन्।प्रधानमन्त्री ओली फागुन २१ गते पनि झापा आउने कार्यक्रम रहेको नेकपा ओली समूह झापाका अध्यक्ष चिन्तन पाठकले बताए। गृह जिल्ला झापाका दुई कार्यक्रम र मोरङको एक कार्यक्रममा सहभागी भई प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किने नेकपा झापाका नेता शिव ढुङ्गेलले जानकारी दिए।

ओली काठमाडौंबाट यति एयरलाइन्सको दोस्रो फ्लाइटबाट भद्रपुर ओर्लनेछन्। गृह जिल्लामा पहिलो कार्यक्रम बिर्तामोड नगरपालिकाले वडा नं. ७ मा निर्माण गरेको प्रदेश गौरभ भिलेजको समुद्घाटन गर्ने छन्। प्रदेश गौरभ भिलेज बिर्तामोड नगरपालिकाले निर्माण गरेको छ। ह्याविटाट र सहारा नेपाल नेपालको सहयोगमा ३७ वटा आवास निर्माण गरिएको छ।प्रत्येक घर निर्माणका लागि ४ लाख खर्च भएको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए। उनका अनुसार सो आवास निर्माणका लागि धनजुजु र कमला श्रेष्ठले १ विगाहा ३ कठ्ठा जग्गा दिएका थिए।प्रधानमन्त्री ओलीको मंगलबारको दोस्रो कार्यक्रम पूर्वाञ्चल क्यान्सर अस्पतालको समुद्घाटन रहेको छ। अस्पतालको उद्घाटन पछि अवलोकन गर्ने छन्। प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।अन्तिम कार्यक्रम मोरङको उर्लाबारी नगरपालिका-९ स्थित नदी किनारमा रहेको सन्थाल बस्ती निर्माणको शिलान्यास रहेको छ। झापाका दुई कार्यक्रमपश्चात् प्रधानमन्त्री ओली उर्लावारी पुग्नेछन्।सरकारले अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत मोरङको उर्लाबारीमा सन्थाल बस्ती निर्माण योजना अगाडि बढाएको छ। सो बस्तीको शिलान्यास पछि ओली विराटनगर हुँदै आजै काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।

0Shares