उद्दार उडान बन्द गरी नियमित उडान संचालन गर्न सरकारलाई सिफारिस
काठमाडौं, कात्तिक २३ । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गरी नियमित उडान संचालन गर्न सरकारलाई सिफारिस गरेको छ ।अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको तथा विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले लगभग उद्दारको काम सकिएको जानकारी गराएपछि उद्दार उडान बन्द गर्नभन्दै सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो । कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ ।
यसैगरी सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरेको छ ।यसैगरी केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको गुरागाईंले बताउनुभयो ।होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।यस्तै कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको छ ।