राष्ट्रिय

उपत्यकामा कोरोना जाँच्न लाइन, पहिलोलाई पिसिआर, दोस्रो र तेस्रो व्यक्तिको र्‍यापिड टेस्ट

0Shares

बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण गराउनेको ठूलो लाइन थियो। झन्डै ६ सय मजदुर तथा व्यवसायी लाइनमा थिए।

उपत्यकामा कोरोनाको संक्रमण पुनः देखिन थालेपछि तरकारी बजार क्षेत्रलाई उच्च जोखिम औंल्याइँदै परीक्षण सुरु गरिएको हो।

‘उपत्यकामा पनि संक्रमण देखिन थालेपछि बढी मानिसहरूको आवतजावत हुने तरकारी बजारबाट परीक्षण सुरु गरेका छौं,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने।

यी ठाउँमा परीक्षण गर्नलाई दुबै पिसिआर र र्‍यापिड टेस्ट विधि अपनाइको छ। परीक्षण गर्दा कसलाई पिसिआर र कसलाई र्‍यापिड टेस्ट गर्ने भनेर विभागले मोडल अपनाएको छ।

श्रेष्ठ भन्छन्, ‘लाइनमा भएका पहिलो व्यक्तिको पिसिआर र दोस्रो र तेस्रो व्यक्तिको र्‍यापिड टेस्ट गर्छौं। त्यसपछि अर्को व्यक्तिको पिसिआर र फेरि दुईजनाको र्‍यापिड टेस्ट गर्छौं।’

यसरी परीक्षण गर्दा एकजनाको पिसिआर गर्दा दुईजनाको र्‍यापिड टेस्ट गरिएको छ। त्यसैले आज कालिमाटी तरकारी बजारमा ६ सय जनामध्ये ४ सयको र्‍यापिड टेस्ट र २ सयको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ।

महानिर्देशक श्रेष्ठले कालिमाटीमा नयाँ र्‍यापिड टेस्ट किटबाट परीक्षण गरिएको बताए। उनले नयाँ र्‍यापिड किटबाट दुबै आइजिएम र आइजिजी एन्टिबडी देखिने जनाए।

जसले गर्दा संक्रमण भर्खर लागेको हो कि पहिले लागेको हो भन्ने थाहा हुन्छ। यसअघि प्रयोग गरिएको र्‍यापिड टेस्ट किटबाट यी दुबै एन्टिबडी नछुट्टिँदा समस्या भएको थियो।

पुरानो र्‍यापिड टेस्ट प्रभावकारी नभएपछि सरकारले किट परिवर्तन गरेको हो। अहिले १ लाख नयाँ र्‍यापिड किट सरकारसँग छ।

पछिल्लो समय संक्रमण ह्वात्तै बढ्न थालेपछि सरकारले उपत्यकामा पनि परीक्षणको दायरा बढाइएको छ।

तरकारी बजारपछि सरसफाइ कर्मचारी, राहत वितरणमा खटिएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र लकडाउनका बेला पनि बाहिरी जिल्लाबाट आएका व्यक्तिको परीक्षण गर्ने तयारी गरिएको छ।

उपत्यकामा मात्र १० हजार जनाको परीक्षण गर्ने तयारी गरिएको छ। यी सबैको परीक्षण गर्दा पहिलोको पिसिआर र दोस्रो र तेस्रो व्यक्तिको र्‍यापिड टेस्ट गरिनेछ। 

संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण भएका व्यक्तिहरूको भने पिसिआर टेस्ट नै गरिने महानिर्देशक श्रेष्ठले बताए।

Source:Setopati

0Shares