एकै दिन भारतमा यस वर्षकै उच्च विन्दुमा कोरोना भाइरसबाट संक्रमित
काठमाडौ,चैत २६: छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या यस वर्षकै उच्च विन्दुमा पुगेको छ ।महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा पछिल्लो २४ घण्टामा भारतमा १ लाख २६ हजार भन्दा बढीमा संक्रमण भएको हो ।संक्रमणको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित भारतमा एकैदिन संक्रमित हुने यो संख्या सन् २ हजार २१ कै उच्च हो भने विश्वमै पनि सबैभन्दा धेरै हो । यसअघि त्यहाँ मंगलबार सबैभन्दा बढी १ लाख १५ हजारभन्दा धेरै संक्रमित थपिएका थिए ।
त्यस्तै गत आइतबार मात्रै १ लाख ३ हजार भन्दा धेरै जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक विश्वभर ६ लाख ५१ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिए । भारतपछि ब्राजिलमा झण्डै एक लाख, अमेरिकामा ७५ हजार तथा टर्कीमा ५४ हजार भन्दा बढी संक्रमित भए ।त्यस्तै पछिल्लो पटक सबैभन्दा बढी ब्राजिलमा झण्डै ३ हजार ८ सय जनाको मृत्यु भयो । अघिल्लो दिन त्यहाँ ४ हजार भन्दा बढीले ज्यान गुमाएका थिए । त्यस्तै अमेरिकामा ८ सय ७३ तथा भारतमा ६ सय ८४ जनाको मृत्यु भयो ।