Uncategorized

एनआरएनएले गैरआवासीय नेपालीहरूबीच सांगीतिक प्रतियोगिता गर्ने

0Shares

काठमाडौ,जेठ १७ : प्रवासमा रहेका नेपाली सांगीतिक प्रतिभाहरूलाई समेटेर प्रतियोगितात्मक रियालिटी सो हुने भएको छ । विश्वभर छरिएका नेपाली प्रतिभालाई चिनाउन भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिंगर’ प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकका अनुसार २१ जुनदेखि सुरु हुने उक्त सो प्रतियोगितामा नेपाल र सार्क मुलुकबाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन् । प्रतियोगिताको निर्णायक मण्डलमा संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने छन् ।
शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा लामिछानेले भने, ‘एनआरएनए स्थापनाका प्रमुख उद्देश्यहरूमध्ये एक प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा जगेर्ना गर्नु रहेको छ । यो कार्यक्रम त्यसतर्फ एक कोसेढुंगा हुने मैले विश्वास लिएको छु ।’ उनले कार्यक्रम सफल पार्न सहयोगका लागि सबैलाई आग्रह पनि गरे। एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए ।स‌ंगीतकार बाँस्कोटाले आफूले जहिले पनि नेपाली संगीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभा जन्माउने विश्वास व्यक्त गरे ।

0Shares