राष्ट्रिय

एमाले कार्यदल बैठक सकारात्मक

0Shares

काठमाडौ,असार २३: नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरूले पार्टी भित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बताएका छन् ।बुधबार अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलको बैठक पछि पार्टी भित्रको विवाद समाधान हुनेतर्फ अगाडी बढेको नेताहरूले बताएका हुन् । बैठक पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेकपा(एमाले)का प्रवक्ता तथा कार्यदल सदस्य प्रदिपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख भएको बताउनुभयो ।एमाले विवादलाई भोलिसम्म टुङ्गोमा पुर्याइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘कार्यदलका तर्फबाट नेताहरूसँग परामर्श गर्ने, उहाँहरूका भावना बुझ्ने कुराहरू पनि भइरहेका छन । कार्यदल भित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्षउन्मुख छन् । हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’त्यस्तै कार्यदल सदस्य सुवाशचन्द्र नेम्वाङले पनि छलफल सकारात्मक रूपले अघि बढेको प्रतिक्रिया दिनुभएको छ । उहाँले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरूलाई ध्यानमा राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गर्दै कार्यदल टुङ्गोमा पुग्न लागेको बताउनुभयो । बुधबार साँझसम्ममा थप छलफल हुने र भोलि पुनः कार्यदलको बैठक बसेर कार्यदलको बैठकबाट एकताको लागि टुङ्गोमा पुर्याउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सबैसँग छलफलका लागि आज दिनभरीको समय चाहिने आवश्यकता महशुस गर्‍यौँ र साँझसम्म ति सबै काम भइसक्छन् र भोलि फेरि बैठकलाई औपचारिक रुपमा सुरु गर्छौं ।’कार्यदल बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ कार्यदल सदस्य गोकर्ण विष्टले दुवै पक्षबीच अविश्वासको खाडल कम भएको र विश्वासको वातावरण निर्माण भएको प्रतिक्रिया दिनुभयो । सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशील बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको व्यवस्थापन गर्ने र प्रतिनिधि सभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफूहरूले चाहेकै भाषामा सहमति खोज्न नजिक आइपुगको उहाँले बताउनुभयो ।सोमबारदेखि नेकपा(एमाले)को कार्यदल सक्रिय छ । बुधबारको बैठकमा धेरै विषया सहमति नजिक पुगेको भन्दै बिहीबारको बैठकले अन्तिम निष्कर्ष दिने नेताहरूले दाबी गरेका छन् ।

0Shares