राष्ट्रिय

ओली र नेपालबीच धुम्बाराहीमा बैठक सुरू

0Shares

काठमाडौ,चैत २ : नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।
एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो।

नेता नेपालले बालुवाटारमा होइन पार्टी केन्द्रीय कार्यालयमा भेटौं भनेपछि भेट धुम्बाराहीमा हुन लागेको हो। सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र न‍ेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा कुनै भेटघाट र संवाद भएको छैन। प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय समितिको बैठक राखेर नेता नेपालसहित सो समूहका मुख्य नेताहरूको जिम्मेवारी खोसेर पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय समिति सदस्यमा नियुक्त गरेपछि एमालेभित्रको विवाद तीव्र रूपले बढेको छ।आइतबार साँझमात्रै नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यले वक्तव्य जारी गर्दै ओलीको कदमको विरोधमात्र गरेका छैनन् एमाले पुनर्गठन गर्ने जिम्मेवारीमा संलग्न हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

0Shares