राष्ट्रिय

ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु:

0Shares

काठमाडौं, ९ पुस नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएका छन् । यसअघिका कुनै पनि समूहको बैठकमा नगएका गृहमन्त्री थापा बिहीबार भने प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा सहभागी भएका हुन् । यसअघि उनलाई ओली समूहमा लाग्न नदिन पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले निकै प्रयास गरे पनि अन्ततः उनी ओली समूहतिर नै लागेका हुन् । पूर्वमाओवादी तर्फबाट लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा यसअघि नै ओली समूहतिर लागि सकेका छन् । यद्यपि थापा निकट मानिने अरू नेता भने प्रचण्ड–नेपाल पक्षमै रहेका छन् । उनी निकट मानिने नेताहरू देव गुरुङ, पम्फा भुसाल, लेखनाथ न्यौपाने, हितमान शाक्यलगायत प्रचण्ड–नेपाल पक्षमै बसे पनि उहाँ मात्रै ओली समूहमा गएका हुन् । ओली समूहको मंगलबारको बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते गर्ने निर्णय गरेको छ । यस्तै ओली समूहको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई दिएको छ ।

0Shares