‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो दिने कमाई १ करोड ४७ लाख || शनिबार २ करोड कमाउने अनुमान
ग्याप्स मिडिया । २०७६ असोज ४ गते
स्टारकास्ट भएका फिल्म समेत बक्सअफिसमा पत्तासाफ हुँदा अहिले फिल्म निर्माण र प्रदर्शन गर्न निर्माता डराएको अवस्था छ । यसबीच, संविधान दिवसको सार्वजनिक विदा पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले केही आशाको किरण देखाएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन देशभर आक्रामक व्यापार गरेको रिपोर्ट प्राप्त छ । भने, फिल्म हेरेका दर्शक सन्तुष्ट भएर निस्किएका छन् ।
राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुमा कब्जा जमाएको यो फिल्मले शुक्रबार क्यूएफएक्स चेनमा बिहानदेखि साँझसम्म ९५ प्रतिशतको आसपासमा अकुपेन्सी कायम गरेको जानकारी प्राप्त छ । क्यूएफएक्सले आफ्नो देशभर छरिएका ९ स्टेशनमा शुक्रबारका लागि कुल ६२ सोज बाँडेको थियो । राजधानीका पाँच स्टेशनमा फिल्मलाई बाँडिएको ३८ सोज शुक्रबार सबै हाउसफुल भए । भने, मोफसलका स्टेशनमा पनि दर्शक भरिभराउ देखिए ।
शुक्रबार फिल्म हेर्न हलमा उत्रिएको भीड देखेर शनिबारका लागि क्यूएफएक्सले तीन सोज बढाएको छ । राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्सहरुले पनि शनिबारका लागि फिल्मको सोजमा वृद्धि गरेका छन् । एफक्यूब सिनेमाजले फिल्मलाई २ सोज बढाउँदा विग सिनेमा, सिडिसी सिनेमा र क्यूजले समान्तर १/१ सोज थपेका छन् । वितरक मनोज राठीले फिल्मले यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गर्न सफल भएको दाबी गरेका छन् ।
फिल्मीखबरसँग कुराकानी गर्दै उनले खुसीको भावमा भने, ‘फिल्मले ‘सुपर ग्राण्ड ओपनिङ’ गरेको छ । यस वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । शुक्रबार बिहानैदेखि मल्टीप्लेक्स र सिंगल थिएटर सबैतिर फिल्म हाउसफुल रह्यो । दुबैतर्फ फिल्मको व्यापार बराबर छ । मोफसलमा पनि फिल्मले गजबको व्यापार गरेको छ । ‘वर्ड अफ माउथ’ राम्रो भएका कारण फिल्म लामो रेसको घोडा बन्ने हाम्रो विश्वास छ ।’
मध्यम वर्गिय दर्शकको सर्वाधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा, सिद्धार्थलगायतका सिंगल थिएटर र मोफसलका प्रमुख स्टेशनमा पनि शुक्रबार फिल्मको टिकट हारालुछ भएको हल सञ्चालकले बताएका छन् । फिल्म हेर्नका लागि हलमा १६ वर्षदेखि ३५/४० वर्ष उमेर समुहका दर्शकको भीड देखिएको छ । फिल्मले पहिलो दिन १ करोड ४७ लाखको व्यापार गरेको वितरक कम्पनी स्टेशन फाइभले फेसबुकमार्फत् जानकारी दिएको छ ।
नाम नै ब्रान्ड बनिसकेको यो फिल्मलाई राजधानीका मल्टीप्लेक्सहरुले शनिबारका लागि प्रदान गरेको अधिकांश सोज शुक्रबार साँझसम्म नै लगभग हाउसफुल भइसकेका छन् । शनिबार मल्टीप्लेक्सहरुमा फिल्मको टिकट हाहाकार हुने देखिएको छ । फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुनुमा ब्रान्ड बनेको सिरिज र नाम चलेका कलाकारहरुको अभिनयलाई मानिएको छ । शनिबार फिल्मले २ करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।
फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यो फिल्मले नजिकिँदै गरेको दशैं विदाको फाइदा पनि उठाउने अनुमान फिल्म पण्डितहरुको छ ।