राष्ट्रिय

कांग्रेसको पदाधिकारी बैठक बस्दै

0Shares

काठमाडौ,साउन १२: नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ । मंगलबार बिहान १० बजे बस्ने बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने कार्यक्रम रहेको कांग्रेस पार्टी कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, छानबिन समितिसँगै निर्वाचन समितिसमेत सहभागी हुँदैछ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको थियो । यसका लागि साउन १२ गते मंगलबारदेखि स्थानीय तहमा निर्वाचन प्रक्रिया शुरु हुनुपर्ने थियो । तर क्रियाशील सदस्यताको टुंगो नलागेपछि महाधिवेशनको निर्वाचन तालिका हेरफेर हुँदैछ । अब भने छानबिन समितिको प्रतिवेदनको आधारमा पदाधिकारी बैठकले निक्र्योल गरी निर्वाचनको नयाँ तालिका सार्वजनिक गर्न केन्द्रीय समितिको बैठक बस्नेछ । कतिपय जिल्लामा विवाद कायमै रहेको र पार्टी कार्यालयमा पनि अनसन जारी रहेको अवस्थामा त्यसलाई मिलाएर महाधिवेशनको वातावरण बनाउनु पर्नेमा जोड दिइएको छ । सत्ता सम्हाल्न पुगेको कांग्रेसलाई भदौभित्रै महाधिवेशन गर्नुपर्ने वाध्यता छ । तर केही दिन तलमाथि हुने नेताहरुले बताएका छन् ।

0Shares