राष्ट्रिय

काठमाडौंमा अझै केही दिन वायु प्रदूषण स्थिर रहने

0Shares

काठमाडौ,चैत २४: काठमाडौंमा अझै कम्तिमा आज र भोलिसम्म काठमाडौंमा वायु प्रदूषण उच्च रहने भएको हो । पश्चिमी वायु सक्रिय नभएको र पानी नपरेका कारण वायु प्रदूषण नहटेको मौसमविद् राजु प्रधानाङ् बताउँछन् । “आज र भोलि अझै काठमाडौंमा वायु प्रदूषण घट्ने अवस्था छैन । काठमाडौंमा आज पनि पानी पर्ने सम्भावना देखिएको छैन । त्यसैले अहिलेकै अवास्था अझै आज र भोलि रहने छ,” उनी भन्छन्, “सोमबार जस्तै आज पनि काठमाडौंको वायु प्रदूषण उच्च रहने छ । उच्च वायु प्रदूषणका कारण भिजिविलिटी कम हुने छ ।”

हिजो काठमाडौं विश्वकै प्रदूषित सहरहरुमध्ये एक नम्बरमा परेको थियो । पानी नपरेसम्म यो अवस्था कायम रहने मौसमविद् प्रधानाङ बताउँछन् । पश्चिमी वायु पश्चिम नेपालमा केही सक्रिय भए पनि त्यो काठमाडौंसम्म आइपुगेको छैन । कतिपय ठाउँका एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३०० नाघेको भन्दै सचेत हुनुपर्ने वातावरण विभागले जनाएको छ । “कति स्थानमा एक्यूआई ३०० अंक नाघेको छ । यो भनेको स्वास्थ्यका लागि निकै खराब अवस्था हो, यसबाट बच्न हामीले सचेत हुनुपर्छ । सकेसम्म घरबाहिर निस्किनु हुँदैन,” वातावरण विभागका प्रवाक्ता तथा उप–महानिर्देशक इन्दूविक्रम जोशी भन्छन्, “बच्चा र बृद्ध–बृद्धालाई यसले तुलनात्मक रुपमा धेरै असर गर्छ त्यसैले उनीहरुलाई यसबाट जोगाउनु पर्छ ।”डडेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण नहट्ने वातावरण विभागको भनाइ छ । नेपालभर सयौं स्थानमा डडेलो लागेको र त्यो निन्त्रण नभएसम्म वायु प्रदूषण नघट्ने प्रवक्ता जोशीको भनाइ छ ।
“सयौं ठाउँमा डडेलो लागिरहेको छ । यसलाई नियन्त्रण गर्ने हामीसँग स्रोत साधन छैन । न हामीसँग डडेलो नियन्त्रणका लागि पानी बोक्ने हेलिकोप्टर छ र अन्य कुनै स्रोतसाधन नै छ,” प्रवक्ता जोशी भन्छन्, “टेप्प्रेचर बढ्दै गएपछि पानी पर्ने छ, र त्यसपछि डडेलो नियन्त्रण हुने छ भन्ने हाम्रो अपेक्षा छ ।” ठूलो हावाहुरी चलेको अवस्थामा पनि वायु प्रदूषण केही कम हुने उनी बताउँछन् । डडेलो नियन्त्रण तथा वायु प्रदूषण रोक्न स्थानीय निकाय नै सक्रिय हुनुपर्नेमा उनको जोड छ । स्थानीय निकायले निहित स्वार्थका लागि डडेलो लगाउने चलनलाई अन्त्य गर्न जनचेतना जागाउन सक्ने तथा ठुलठूला अग्नी नियन्त्रण रेखा बनाएर डडेलो नियन्त्रण गर्नसक्ने उनको भनाइ छ । प्रदूषणबाट बच्न संघीय सरकारलेभन्दा पनि अवस्था हेरेर स्थानीय सरकारले निर्णय गर्नसक्ने विभागको भनाइ छ । “काठमाडौंमा भएको वायु प्रदूषण पूर्वी नेपालमा नहुन पनि सक्छ त्यसैले वायु प्रदूषणबाट बच्ने उपाय अपनाउने र निर्णय गर्ने अधिकार स्थानीय निकायलाई दियो भने प्रभावकारी हुन्छ,” विभागका प्रवक्ता जोशी भन्छन् । गत वर्ष यही समय काठमाडौंमा करिब तीनदशक यताकै सफा मौसम भएको थियो । डडेलो नलागेको तथा लकडाउनका कारण सवारी साधन नचलाउँदा प्रदूषण नभएको प्रदूषण कम भएको स्मरण गर्दै जोशी भन्छन्, “डडेलो नलागेको र न्यून सवारी साधन चलाएको अवस्थामा वायु प्रदूण हुँदैन । र मौसम सफा देखिन्छ । सवारी साधान नै नचलाउन त सकिँदैन । तर, डडेलो नलाग्ने हो भने स्वास्थ्यलाई नै असर गर्ने तहमा वायु प्रदूषण हुँदैन ।”

0Shares