राष्ट्रिय

काठमाडौंमा हत्या र आत्महत्या बढ्यो

0Shares

काठमाडौ,चैत ९: काठमाडौंमा पछिल्लो एक सातामा भएका तीन हत्या र दुई आत्महत्याका घटनासहित पाँच घटनामा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार टोखामा भएको गत २९ फागुनमा टोखाको मालुङ्ग साङ्ला ढलान नजिकै बाँसको झाङमा लिम्बुको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । सो घटनामा लागु औषध गाँजाको विवादले हत्याको रूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।प्रहरीले सो हत्याको घटनामा संलग्न तीन जना आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक भुपेन्द्र कुमार, रौतहट घर भएका मोहम्मद कासिम मन्सुरी र सेख अब्दुल आलम छन् ।

उनीहरुबीच २८ फागुनमा टोखा नपा- ३ सूर्यदर्शन हाइटस्थित मन्सुरीले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा गाँजाको विषयमा विवाद भएको र विवादले हत्याको रूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।यसै गरी बल्खुको सुकुम्वासी वस्तिमा भएको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतक सन्तोषीका श्रीमान् सन्तोष सापकोटालाई पक्राउ गरी कारबाहीअघि बढाइसकेको छ ।उनले पक्राउ परेपछि प्रहरी समक्ष दिएको बयानमा आफूले लागू औषध सेवन गर्ने गरेको र श्रीमतीसँग विवाद बढ्दै गएपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।उनीहरुबीच विवाद बढ्दै गएपछि श्रीमती सन्तोषी गत वैशाखदेखि नै माइती बस्दै आएको र सधैँ झगडा हुने गरेका कारण श्रीमतीले डिभोर्स मागेपछि आफूले सहन नसकेर घर आएको मौकामा हत्या गरिदिएको बयान सन्तोषले प्रहरी समक्ष दिएका छन् ।

गत शुक्रवार दक्षिणकाली नगरपालिका-१, खहरेमा प्रहरीले मृत अवस्थामा दुई जनाको शव फेला पारेको थियो । उनीहरूको शव भेटिएको स्थान नजिकै सल्फास नामक विषादीको बट्टा समेत प्रहरीले फेला पारेका कारण आत्महत्याको आशङ्का छ ।प्रहरीले उनीहरूको शवको सनाखत गर्दा नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीय मंगल तामाङ रहेको खुलेको थियो ।प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे । उनीहरू दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको काठमाडौं प्रहरीका प्रवक्ता एवं एसपी रमेशबहादुर बस्नेतले जानकारी दिए । सो घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको छ । घटनाको कारण के हो भन्ने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने एसपी बस्नेतले बताए ।

काठमाडौंको मुलपानी, अत्तरखेल र कपनमा भएको घटनामा भने तीनै जनाले आत्महत्या गरेको पाइएको प्रहरी बत्ताउँछ ।शुक्रवार मूलपानी, अत्तरखेल र कपनमा एकै दिन तीन जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता बस्नेतले जानकारी दिएका हुन् ।मुलपानीस्थित तिवारी टोलमा डेरा गरेर बस्ने २४ वर्षीया दीपा श्रेष्ठले आफु बस्ने घरको छतमा फलामे बारमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।यसै गरी अत्तरखेल बस्ने ओखलढुंगाका बाबुराम बस्नेत साथीको डेरामा झुण्डिएको अवस्थामा फेला परेका थिए । करिब ३५ वर्षीय बस्नेत साथीको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी बत्ताउँछ । उनी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका स्थानीय हुन् ।त्यस्तै बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा २४ वर्षीया विनिता पहरीलेसमेत सोही दिन नै झुण्डेर आत्महत्या गरेकी थिइन् । काभ्रे घर भएकी पहरी आफ्नै डेरामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । यी तीन वटै घटनास्थल बौद्ध प्रहरीको क्षेत्रमा पर्छ ।
कलंकीमा ढुंगाले हानेर हत्या
आइतबार बिहानै कलंकीमा भएको हत्याको घटना ढुङ्गा प्रहार गरी भएको खुलेको छ । प्रहरीका अनुसार आइतबार बिहानै तीन बजे ढुङगाले हानेर कलङ्की थापागाउँमा चौधरी थरका व्यक्तिको हत्या गरिएको थियो ।प्रहरीले हत्या आरोपीलाई पक्राउ गरिसकेको जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले सिन्धुली सुनकोशीका २१ वर्षीया दिनेश थापालाई पक्राउ गरेको हो ।घटनालगत्तै महानगरीय प्रहरी प्रभाग कलंकीसहित परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले घटनास्थल पुगी सिसिटिभी फुटेज निकालेको थियो । सो क्रममा होचो कदका क्याप लगाएका व्यक्तिको संलग्नता रहेको प्रहरीले ‘क्लु’ फेला पारेको थियो ।सोही आधारमा खोजतलास अघि बढाएको प्रहरीले सिन्धुलीका थापालाई पक्राउ गरेको हो । उनले शनिवार मृतकसँग झगडा भएको र सोही कारणले आफूले हत्या गरेको प्रारम्भिक बयान प्रहरीमा दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0Shares