राष्ट्रिय

काठमाडौं महानगरपालिकामा असारबाट नयाँ शैक्षिक सत्र

0Shares

काठमाडौ,जेठ ७ : काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेको छ । जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्म नतिजा प्रकाशन गर्न महानगरपालिकाले सर्कुलर गरेको हो । विद्यालयको अनुकूलता अनुसार अनलाइन, अफलाइन, टेलिफोन लगायत यसअघि सञ्चालित परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न सकिने शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जनाए । असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने व्यवस्था मिलाउने महानगरपालिकाले ताकेता गरेको हो ।
कतिपय निजी विद्यालयले नतिजा प्रकाशन गरेर नयाँ शैक्षिकसत्रको अनलाइन पठनपाठन समेत सुरु गरिसकेका छन् । कक्षा ८ को नगरस्तरीय परीक्षाका विषयमा भने छिट्टै निर्णय लिएर सूचना जारी गरिने सुवेदीले बताए । शिक्षा मन्त्रालयले गत वर्षको कोरोना महामारीका कारण वैशाखबाट सुरु हुने शैक्षिक सत्रलाई असारमा सारेको थियो । यसपालि पनि वैशाखदेखि शिक्षण संस्था ठप्प छन् । पठनपाठन र परीक्षा रोकिएको छ । मन्त्रालयले अर्को निर्णय नभएसम्म असार पहिलो साताबाटै शैक्षिक सत्र सुरु हुने जनाएको छ । पठनपाठन र परीक्षा हुन नसकेकाले चालु शैक्षिक सत्रलाई अझै पछाडि धकेल्ने कि भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले स्रोतले जनाएको छ । जेठमा सञ्चालन हुने कक्षा १० र १२ को परीक्षा पनि स्थगित गरिएको छ ।

0Shares