राष्ट्रिय

केपी ओली र जनता समाजवादी बीचको छलफल सम्पन्न

0Shares

काठमाडौ,चैत १०: प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको भएको छलफल सम्पन्न भएको छ । आजको छलफलमा प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई सरकारलाई संसदमा समर्थन गर्न र तत्काल सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।जसपा नेताहरुले भने आफ्ना माग पुरा हुनुपर्ने पुरानै अडान दोहोर्‍याएका थिए । नेता लक्षमणलाल कर्णले आफूहरुले माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट जवाफ दिएको बताए ।नेता कर्णले भने, ‘हामीहरुले रेशम चौधरीको रिहाइलगायतका हाम्रा ५ बुँदे माग राख्यौँ ।

हामीले प्रधानमन्त्रीलाई तपाईंलाई समर्थन गर्नुपर्ने भए हाम्रा माग पहिला पूरा गर्नुहोस् अनि सोचौंला, भन्यौँ ।’भेटमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सहभागी थिए भने प्रधानमन्त्री ओलीसँग एमाले नेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईलगायत उपस्थित थिए ।जसपाले सांसद रेशम चौधरीको रिहाई, मधेस र थरुहट आन्दोलनमा लागेका नेता कार्यकर्तामाथिको झुटा मुद्दा खारेज, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन गर्नुपर्ने माग अघि सारेको छ ।

0Shares