के ओली फेरि संसद विघटन गर्ने पक्षमा छन त्?
काठमाडौ,चैत ४: राष्ट्रपति भण्डारीले संसद विघटन गर्दा आफूले सरकारले ल्याएको सिफारिसमा हस्ताक्षरमात्र गरेको भनेर आफू संविधानअनुसार नै चलेको बताएर पन्छिइन् ।त्यस्तै ओलीले चुनावमा जानका लागि संसद विघटन गर्नु प्रजातन्त्रमा स्वभाविक भएको बताए । त्यतिमात्र हैन फेरि संसद् विघटन गर्ने प्रधानमन्त्रीको एजेन्डा सार्वजनिक गराउन राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको आरोप लागिसकेको छ ।भण्डारी र ओलीको हाउभाउ देख्दा त्यही प्रतित हुने नेताहरुले बताएका छन् । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीका अनुसार प्रधानमन्त्रीले सीधै फेरि संसद विघटन गर्छु नभने पनि आफू पहिले पनि सही भएको र फेरि पनि संसद विघटन गर्ने अधिकार रहेको मनसाय व्यक्त गरेका थिए ।
हुनत राष्ट्रपति भण्डारी बंगलादेश जाँदैछिन् । त्यसकै लागि उनले नेताहरुलाई डाकेको अनुमान गरिएको थियो । तर त्यहाँको माहोल हेर्दा भने फेरि पनि संसद विघटन हुन सक्ने प्रारम्भिक संकेत दिन डाकिएको अनुभूति नेताहरुले गरेका छन् ।यदि त्यस्तो भयो भने के हुन्छ ?
यदि फेरि पनि केपी ओलीले संसद विघटन गरे के हुन्छ ? उनले पुस ५ गते आफ्नो पार्टी (तत्कालीन नेकपाको भार थेग्न नसकेर रिसको झ्वाँकमा संसद विघटन गरेका थिए ।आफ्नो पार्टीभित्र अल्पमतमा परेपछि उनले संसद विघटन गरेका थिए । उनी असंवैधानिक थिए । त्यसको पुष्टि सर्वोच्च अदालतले गरेर फागुन ११ गते संसद ब्युँताइदिएको थियो ।अदालतले १३ दिनभित्र बैठक डाक्न पनि निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार फागुन २३ गतेलाई संसद बैठक डाकियो । तर सोही दिन सर्वोच्चले अर्को फैसला गर्यो । त्यो थियो । एमाले र माओवादी केन्द्रको एकतापछिको नामको विषयमा ।ऋषिराम कट्टेलले आफ्नो पार्टीको नामसँग जुधेकाले निवेदन दिएका थिए । उनले मुद्दा जिते । नेकपा नाम केपी ओली र पुष्पकलम दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपालाई दिन नमिल्ने भन्दै २०७५ जेठ ३ गते (एकता यही मितिमा भएको थियो) अगाडिको स्थितिलाई फर्काएर एमाले र माओवादी केन्द्रलाई ब्युँतायो सर्वोच्चले ।त्यसपछि परिस्थिति असहज बन्यो । संसद बैठक फागुन २३ मा त बस्यो तर त्यति सहज भएन । प्रधानमन्त्री ओली बैठक बस्नुअघि नै हिँडे । फेरि फागुन २६ लाई डाकियो । त्यो बैठक पनि ओलीले बंक गरेर निस्के ।बैठक चैत ३ गते मंगलबार पनि बस्यो । तर त्यो बैठकमा ओली ढिला पुगे । अर्थात् उनी तीनै पटक संसदमा उपस्थित भएनन् ।ओलीले संसद छलिरहेका छन् । सरकारले बिजनेश नदिएपछि संसदको अधिवेशन रोकिने सम्भावना हुन्छ । त्यही गतिमा उनी पुगिरहेका छन् ।ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई पटक पटक गाली गरिसकेका छन् । अमर्यादित भनेर आरोप लगाइसकेका छन् । सापकोटा माओवादी केन्द्रका नेता हुन् ।उनी पक्षका नभएपछि सबैलाई हेप्ने बानी ओलीलाई परिसकेको छ । तर सर्वदलीय बैठकमै म ठीक छु भनेर चुनावलाई नै विकल्प देख्ने ओलीले फेरि पनि संसद विघटन गरे के हुन्छ ?