राष्ट्रिय

के केपी ओलीले गर्लान त् सत्ता कब्जा?

0Shares

काठमाडौँ,माघ २६; तानाशाहीकरण कसरी हुन्छ भन्दा राज्यका सबै अंगलाई जब कार्यकारिणीले वंशीभूत गर्छ, विभिन्न ढंगले त्रसित बनाउँछ र नियन्त्रणमा लिन्छ । अनि, नियन्त्रण-सन्तुलन गुम्छ । नियन्त्रण-सन्तुलनका अंग गुम्छन् । राज्यका सबै अंग कार्यकारिणी अर्थात् सरकारका रबर स्ट्याम जस्ता बन्छन् । तब तानाशाही हुन्छ । नत्र त तानाशाहीलाई अदालतले हटाइदिन्छ । अर्कोले हटाइदिन्छ । अर्कोले मान्दैन, उसको स्वतन्त्र भूमिका हुन्छ । धाँधली गर्न निर्वाचन आयोगले दिँदैन । भ्रष्टाचार गर्न अख्तियारले दिँदैन । तर, यी सबैलाई नियन्त्रणमा गरिदिइसकेपछि, निरीह बनाइसकेर नियन्त्रणमा लिएपछि अनि कार्यकारिणी स्वेच्छाचारी हुन्छ । तानाशाही भनेको त्यही हो ।’सरकार कसरी तानाशाही एवं स्वेच्छाचारी बन्छ भन्नेबारे ४१ महिना अगाडि केपी शर्मा ओलीले गरेको व्याख्या हो, यो ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी भइरहँदा २४ भदौ २०७४ मा एपी वान टेलिभिजनमा अन्तर्वार्ता दिँदै ओलीले तत्कालीन सरकार सत्ता कब्जा गर्ने बाटोमा लागेको आरोप लगाएका थिए ।उनले थप प्रष्टाउँदै भनेका थिए, ‘…बिहेमा भन्ने गर्छन्- बाजा बजाउने तयार छौ ? मन्त्र पढ्ने तयार छौ ? चरू होम्न तयार छौ ? सबै तयार, तयार भनेपछि, ल शुभ लगन भो, शुभ लगन भयो भन्छन् । त्यस्तै गरेर सबै अंग तयार गरेपछि (मतपत्र) च्यात्ने बेला भयो (हाउभाउसहित देखाउँदै) । च्यात्यो अनि सबै अंगले अंग पुर्‍याए ।’चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यात्न राज्यका सबै अंग सरकारको कब्जामा लिएर मात्रै संभव भएको निष्कर्ष निकाल्दै ओलीले तानाशाही शासकको उदाहरण दिएका थिए ।

त्यो अन्तर्वार्ता दिएको दुई महिना नपुग्दै १७ कात्तिक २०७४ मा एमाले र माओवादीबीच गठबन्धन बन्यो । वाम गठबन्धनले सात मध्ये ६ प्रदेश दुई तिहाइ र संघीय संसदमा ६४ प्रतिशत जनमत पायो अनि ३ फागुन २०७४ मा ओलीको सत्तारोहण भयो । पूर्वएमाले अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाएर इतिहास रच्ने स्वर्ण अवसर पाए ।ओलीलाई कहिल्यै साथ नदिएकाहरूले पनि उत्साहित हुँदै ‘अवसर गाथा’ लेखे । २०७४ को निर्वाचन परिणामपछि ‘अबको राजनीतिले स्थिर यात्रा तय गर्ने’ निष्कर्ष निकालेका विश्लेषक नारायण ढकाल भन्छन्, ‘ओलीले पाएको अवसर चानेचुने थिएन । तर, उनी सत्ता कब्जा गर्ने बाटोमा लागे ।’अहिले प्रधानमन्त्री ओलीलाई उनको समूहबाहेक सबैले भनिरहेका छन्- तानाशाही बाटोमा लागेको शासक । संसद पुनस्थापनाको माग गर्दै ‘तेस्रो चरणको आन्दोलन’ गरिरहेको विभाजित नेकपाका प्रचण्ड-माधव समूहले ओलीका कदमविरुद्ध माघ २२ गते आमहड्ताल नै गर्‍यो । जनप्रदर्शनलाई प्राथमिकतामा राखेको यो समूहले आकस्मिकरुपमा आमहड्ताल गर्नुको कारण थियो, २१ गते ११ वटा संवैधानिक निकायमा ३८ पदाधिकारीलाई शपथ गराइनू ।अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा नियुक्ति गर्नुलाई कामचलाउ प्रधानमन्त्री ओलीको सत्ता कब्जा भन्दै आएका अधिवक्ता ओमप्रकाश अर्याल शक्ति सन्तुलन गर्नुपर्ने ठाउँहरुमा कार्यपालिकाको ‘एस म्यान’हरु ल्याइएको बताउँछन् । उनी भन्छन्, ‘राज्य पूरा कब्जा भएको अवस्था देखिएको छ ।’

0Shares