राष्ट्रिय

के गर्ला त् अब काग्रेस

0Shares

काठमाडौ,फागुन २०: प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि अब उनी कहिले, कसरी सत्ताबाट बाहिरिन्छन् र त्यसपछि कस्तो सत्ता समिकरण बन्छ भन्नेमा आमचासो छ।प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको सर्वोच्च अदालतले नै ठहर गरेकाले उनले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने माग पनि उठेको छ। प्रधानमन्त्री ओलीले भने आफू अदालतको आदेशमा प्रधानमन्त्री नबनेकाले राजीनामा नदिने बरू सक्ने भए संसदीय प्रक्रियाबाट हटाउन चुनौती दिएका छन्।यसको अर्थ प्रधानमन्त्री ओलीको सत्ता यात्रा निरन्तर हुन्छ कि सकिन्छ भन्ने छिनोफानो अब संसदीय प्रक्रियाबाट हुने भएको छ।त्यसका लागि दुई विकल्प छन्: सत्तारूढ नेकपाले उनलाई संसदीय दलको नेताबाट हटाउने वा उनीविरूद्ध संसदबाट अविश्वासको प्रस्ताव पारित गर्ने।


प्रचण्ड-नेपाल समूहले यसअघि नै ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाले पनि उक्त निर्णयलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छैन। बुधबारमात्रै प्रचण्ड-नेपाल पक्षले ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ। नेकपामा एकले अर्कालाई कारबाही गरेर आफू आधिकारिक भएको दाबी गरे पनि आयोगले कुनै समूहलाई मान्यता नदिँदा विषय बल्झिएको छ।निर्वाचन आयोगले यो विवाद कहिले टुंग्याउँछ भन्ने एकिन नभएकालेओलीलाई तत्काल सत्ताबाट हटाउने हो भने संसदले उनीविरूद्ध अविश्वास प्रस्ताव पारित गर्नुपर्छ।
प्रधानमन्त्री ओलीविरूद्ध अहिले पनि प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता छ। ओलीले प्रतिनिधि सभा विघटन गरेकै दिन प्रचण्ड-नेपाल पक्षीय सांसदहरूले उक्त प्रस्ताव दर्ता गरेका हुन्।प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रचण्ड-नेपाल समूहले उक्त प्रस्ताव अघि नबढाउने निर्णय गरिसकेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भावी प्रधानमन्त्रीमा प्रस्तावित गरिएकाले उक्त प्रस्ताव अहिले असान्दर्भिक भएको हो। ओलीलाई हटाउन संसदमा बहुमत नपुग्ने भएपछि प्रचण्ड-नेपाल समूहले अरू दलसँग सहकार्य गर्नु पर्ने भएको छ। त्यस्तो सहकार्यका लागि प्रचण्डलाई नै प्रधानमन्त्री मानेर अर्को प्रस्ताव दर्ता हुने सम्भावना कम छ।यस्तो बेलामा प्रचण्ड-नेपाल समूह कांग्रेस सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्री मान्न तयार भए प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ओलीविरूद्ध अविश्वासको प्रस्ताव राख्न सक्ने कतिपयको आकलन छ।के कांग्रेसले ओलीविरूद्ध त्यस्तो प्रस्ताव लैजाला त?कांग्रेस सभापति देउवाले भावी प्रधानमन्त्रीका लागि आफू तयार रहेको सन्देश दिएका छन्। बुधबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्रीको जिम्मेवारी लिनु पर्ने अवस्था आए आफू नभाग्ने बताएका छन्।
देउवालाई प्रधानमन्त्री बन्न पार्टीभित्रैबाट भने सजिलो छैन। वरिष्ठ नेता रामचन्द्र पौडेलले गत चुनावमा पार्टीलाई सरकारमा जाने म्यान्डेट जनताले नदिएको तर्क गरिरहेका छन्।
बिहीबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले अहिले के हैसियतमा, किन कांग्रेस सरकारमा जाने भन्ने प्रश्न उठाएका छन्।
पौडेलले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्तावमा समर्थन गर्नुपर्ने तर प्रधानमन्त्री पार्टीकै नेताभन्दा पनि अरूलाई सहयोग गरेर जाँदा भूमिका बढ्ने तर्क राखेका छन्। त्यस्तो अविश्वासको प्रस्ताव कांग्रेसले नै संसदमा पेश गर्ने/नगर्नेबारे उनले केही खुलाएनन्।‘सरकारमा किन जाने? के हैसियत लिएर जाने? यसबारे पार्टीभित्र छलफल जरूरी छ। यसबारे आज पदाधिकारी बैठक बस्छ म त्यहाँ यो कुरा राख्छु,’ पौडेलले भने, ‘कांग्रेसले अरूलाई सहयोग गरेर संकट पार लगाउन सक्छ। अरूलाई पनि सरकार चलाउन सहयोग पुर्‍याइदियो भने भूमिका कांग्रेसकै महत्वपूर्ण भएर जान्छ।’ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिन भने नसकिने पौडेलले बताएका छन्।‘म क्लियर छु- केपी ओलीले संविधान र व्यवस्थालाई नै जोखिममा पार्नुभयो। उहाँलाई समर्थन गर्न कांग्रेसको नैतिकताले दिँदैन। बरू प्रचण्ड-नेपाल पक्षतिर पोजेटिभ हुन सकिन्छ।’
कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल अहिले नै नेकपाका कुन पक्षलाई समर्थन गर्ने वा कांग्रेसबाट सरकारको नेतृत्व हुन सक्ने सम्भावनाबारे प्रष्ट खाका नआइसकेको बताउँछन्। यी सबै कुरा पार्टीको १४ औं महाधिवेशनसँग जोडिने पनि रिजाल तर्क गर्छन्।हाम्रो महाधिवेशन पनि आइरहेको छ। महाधिवेशनको सापेक्षतामा कांग्रेसको राजनीति हुन्छ। नेकपाभित्रका विवादमा भने म त्यति समस्या देख्दिनँ,’ उनले भने।कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अहिले नै कसलाई समर्थन गर्ने वा विरोध गर्ने भन्नेमा केन्द्रीत नभएको बताउँछन्।‘कांग्रेस चुप लागेर हेरिराखेको छ। राजनीति र परिस्थितिबारे संसद बैठकको प्रतिक्षामा छौं,’ खाँणले सेतोपाटीसँग भने, ‘सत्तामा रहेको नेकपाको सबै गतिविधि हेरिरहेका छौं। अहिले हामी कुनै निर्णयमा पुगेको छैन।’कांग्रेसले फागुन २३ गते ४ बजे बस्ने प्रतिनिधि सभा बैठकको अवस्था हेरेर निर्णय लिने खाँणले बताए।ओलीविरूद्ध कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने सम्भावनाबारे सोधिएको प्रश्नमा खाँणले भने, ‘कांग्रेसले सबै वस्तुस्थितिको सुक्ष्म अध्ययन गरिरहेको छ। कांग्रेसले कस्तो कदम चाल्ने निर्णय गर्नुभन्दा पहिले परिस्थितिको अध्ययन गर्नु जरूरी छ। संसद सुरू भएपछि हामी ठिक समयमा उचित निर्णय गर्छौं।’देउवाले ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने वा अरू केही गर्ने भन्नेबार छलफल गर्न आज अपरान्ह ३ बजे बुढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्।भोलि शुक्रबार १ बजे संसदीय दलको बैठक भएकाले त्यसअघि नै मोटामोटी खाका तयार पार्न देउवाले आजको बैठक राखेका हुन्।

0Shares