बैंक तथा वित्तिय

कोभिडबाट बच्न बैंक–वित्तलाई राष्ट्र बैंकको नौ बुँदे निर्देशन जारी

0Shares

काठमाडौ,वैशाख ७: नेपाल राष्ट्र बैंकले कोभिड १९ दोस्रो लहरलाई मध्यनजर गर्दै संक्रमणको जोखिम न्यूनीकरण र सुरक्षित सेवाप्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौ बुँदे निर्देशन जारी गरेको हो ।राष्ट्र बैंकले निर्देशनमा क देखि घ वर्गसम्मका बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाह गर्न, सेवाप्रवाहका क्रममा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । त्यसैगरी, सेवाग्राहीको भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी काम गर्न तथा यथासम्भव विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन छ ।

राष्ट्र बैंकले एटिएम प्रयोगबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राख्न तथा सेनिटाइजरको व्यवस्था गर्न भनेको छ । त्यस्तै, बैठक, गोष्ठी, सेमिनार, तालिमलगायत कार्यक्रममा पर्याप्त भौतिक दूरी कायम राख्न र सकेसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न निर्देशन दिइएको छ ।राष्ट्र बैंकले कर्मचारीलाई संक्रमणको जोखिमबाट बचाउन जोखिम न्यूनीकरणका विभिन्न उपाय अवलम्बन गर्न भनेको छ । कर्मचारीहरूको समूह विभाजन गरी एक समूहको अर्को समूहसित प्रत्यक्ष सम्पर्क नहुने व्यवास्थ गर्न तथा रिमोट एसेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क जस्ता उपाय अवलम्बन गर्न राष्ट्र बैंकको सुझाब छ । संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्र्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्नसमेत निर्देशन गरिएको छ ।राष्ट्र बैंकले कोभिड १९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि ‘कोभिड १९ सुरक्षा व्यवस्थापन समूह’ गठन गर्न पहिले नै दिएको निर्देशनअनुरूप सो समूहलाई सक्रिय बनाउनसमेत बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको छ । भविष्यमा महामारी फिलिई विशेष अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाको अत्यावश्यकीय कार्यको निरन्तरताका लागि विस्तृत कार्ययोजनासहितको ‘कन्टिन्जेन्सी प्लान’ लाई समयानुकूल अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन छ । संक्रमणको जोखिम न्यूनीकरणका सम्बन्धमा यसअघि केन्द्रीय बैंकबाट जारी भएको निर्देशनहरूको पालना गर्नसमेत राष्ट्र बैंकले भनेको छ ।

0Shares