राष्ट्रिय

कोरोना भेरिएन्टले पाए नाम

0Shares

काठमाडौ,जेठ २० : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसका विभिन्न भेरिएन्टलाई नयाँ नाम दिएको छ । यूके, दक्षिण अफ्रिका, ब्राजिल, अमेरिका, फिलिपिन्स र भारतमा पहिलोपटक देखिएका भेरिएन्टलाई डब्लूएचओले ग्रीक भाषाका अक्षरबाट नयाँ नाम दिएको हो । यूकेमा देखिएको भेरिएन्ट बी.१.१.७ लाई अल्फा नामकरण गरिएको छ । उक्त भेरिएन्ट सन् २०२० को सेप्टेम्बरमा पहिलोपटक देखिएको हो । त्यस्तै, दक्षिण अफ्रिकामा २०२० को मेमा पहिलोपटक देखिएको भेरिएन्ट बी.१.३५१ लाई बिटा नाम दिइएको छ । त्यसैगरी, डब्लूएचओले ब्राजिली भेरिएन्ट पी.१ लाई गामा नाम दिएको छ भने भारतीय भेरिएन्ट बी.१.६१७.२ ले डेल्टा नाम पाएको छ । ब्राजिली र भारतीय भेरिएन्ट गत वर्षको नोभेम्बर तथा अक्टोबरमा पहिलोपटक देखिएका थिए ।
संगठनले भाइरसका भेरिएन्टलाई देशको नामसँग जोडेर नकारात्मक टिप्पणी गर्ने गरिएकाले नयाँ नाम दिइएको जनाएको हो । भारतमा देखिएको नयाँ भेरियन्ट बी.१.६१७.२) लाई गत महिना ‘भारतीय भेरिएन्ट’ को नाम दिइएपछि भारत सरकारको निकै आलोचना भएको थियो । ‘कुनै पनि देशलाई भाइरसको भेरिएन्ट देखिएका आधारमा कलंकित पार्नु हुँदैन,’ डब्लूएचओको कोभिड–१९ प्राविधिक प्रमुख मारिया भान केरखोभले ट्वीटरमा लेखेकी छन् । भारतमै देखिएको अर्को भेरिएन्ट बी.१.६१७.१ लाई भने काप्पा नाम दिइएको छ भने ब्राजिलको अर्को भेरिएन्ट पी.२ ले जिटा नाम पाएको छ । फिलिपिन्सको पी.३ लाई थिटा तथा अमेरिकामा देखिएका बी.१.५२६ लाई आयोटा र बी.१.४२७/बी.१.४.२९ लाई एप्सिलन नाम दिइएको छ । त्यस्तै विभिन्न देशहरूमा देखिएको पी.३ लाई भने डब्लूएचओले इटा नाम दिएको छ ।

0Shares