राष्ट्रिय

कोरोना संक्रमण बढ्नुका कारण

0Shares

काठमाडौ,साउन ८: निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताउनुभयो । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट सङ्क्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।“खुकुलो भएसँगै सङ्क्रमण हुने दर बढिरहेको छ । विगत एक हप्तादेखि सङ्क्रमित हुने दर बढ्दो रहेको छ”, उनले भने, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा सङ्क्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन ।” सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो ।

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भइरहेको जनाएको छ । उनका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा सङ्क्रमणदर रहेको छ । नेपालमा शुरुदेखि अहिलेसम्मको सङ्क्रमणदर भने १९.३ प्रतिशत रहेको छ । सङ्क्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन् । यस्तै साउन २ गते १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५, ३ गते नौ हजार ६२८ परीक्षण गर्दा एक हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा दुई हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा तीन हजार १०८ र साउन ६ गते दुई हजार ८३८ जना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार मृत्यु हुने सङ्ख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको सङ्क्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी सङ्क्रमणदर हुने प्रदेशमा प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । ती प्रदेशमा परीक्षण गरिएकामध्ये दुई जनामा एक जना सङ्क्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताउँछन् । उनले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा सङ्क्रमणको जोखिममा अझै रहेको बताए । “मानिस घरमै बसेर सङ्क्रमणलाई लुकाइरहेका छन् । सङ्क्रमण भए पनि आइसोलेशनमा बसेका छैनन्”, उनले भने, “जसले गर्दा घरपिच्छै सबै मानिसमा सङ्क्रमण हुने डर छ ।”मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।

0Shares