राष्ट्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

0Shares

काठमाडौ,वैशाख १३ : गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे।प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।विपी कोइराला, गिरिजा कोइरालासँग जोडेर अहिलेको संसद बिघटन जायज छ भनेर मुख्यमन्त्री गुरुङ पुष्टि गर्न लागेको नेपालीले बताए। प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको गण्डकी प्रदेश सरकार मतियार बनेको र यो गण्डकी प्रदेशका जनताको भावनाबिपरीत रहेको उनको भनाइ थियो।
संविधानको धारा १ सय ८८ मा प्रधानमन्त्री वा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा विश्वासको मत लिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि मुख्यमन्त्रीले त्यसो नगरेकाले यो असंवैधानिक सरकार भएको नेपालीले दाबी गरे। सत्ता साझेदार दलले समर्थन फिर्ता लिइरहँदा पनि मुख्यमन्त्री कुर्चीमै रहनु गलत भएको उनको भनाइ थियो ।६ गते प्रदेशसभाको बैठक बोलाइसकेको अवस्थामा वैशाख १ गते राति नै अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री गुरुङले प्रतिगमनकै सिको गरेको उनको आरोप थियो।सरकार अविश्वासको प्रस्ताव फेस गर्नबाट भाग्यो। सरकारलाई समातेर ल्याउन विशेष अधिवेशन बोलाउनुपयो,’ नेपालीले भने, ‘मुख्यमन्त्रीले धेरै लोकतन्त्रको कुरा गर्नुहुन्छ। अविश्वासको प्रस्ताव फेस गर्नुभन्दा संसद अधिवेशन नै अधिवेशन गर्नुभयो। यो अलोकतान्त्रिक हो। यसमा घोर आपत्ति छ ।’संसदलाई छल्ने प्रवृत्ति देखेपछि अविश्वासको प्रस्ताव दर्ता गराएको नेपालीले बताए। सत्ता सहयात्रीलाई निर्मम प्रहार र अपमान गरेको उनको आरोप थियो। प्रधानमन्त्रीको असंवैधानिक कदम र संवैधानिक निकायमा भएको प्रहारप्रति मुख्यमन्त्री गुरुङले साथ दिएको उनको भनाइ थियो। साढे ३ वर्षमा कुनै पनि उल्लेखनीय काम यो सरकारले गर्न नसकेको नेपालीले बताए। मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको प्रस्ताव दर्ता हुने सुइँको पाएलगत्तै १ गते मध्यरातमै मुख्यमन्त्री गुरुङ संसद अधिवेशन नै अन्त्य गरिदिएका थिए।`

0Shares