राष्ट्रिय

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ७५% पूरा

0Shares

काठमाडौ,फागुन ५: पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी हुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्न ८२ किमी सडक निर्माण विसं २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि शुरु भएको थियो । यो योजना विसं २०८० भित्र पूरा गर्ने नयाँ लक्ष्य बनाइएको छ । धादिङको गल्छीबाट रसुवाको स्याफ्रुबेसीँसम्म निर्माण भइरहेको सडकको प्रगति बार्खायाम र कोरोनाका कारण प्रभावित भएकामा अहिले भने तीव्रगतिमा अघि बढेको छ ।राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ७५% पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिर काटिएको छ भने बाँकी स्थानका भिर काट्ने र पहिरो नियन्त्रणको काम पनि अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

“चीनसँगको सीमा क्षेत्र रसुवागढीबाट धादिङको गल्छीसम्म सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा कामको जिम्मेवारी दिएको थियो”, उनले भने, “कार्यालय स्थापनाको समयमा रु नौ अर्ब ५० करोड बजेट प्रक्षेपण गरेको भए पनि त्यो रकम अपुग भएको छ ।”योजनाअन्तर्गत तीन स्थानमा गएका ठूलो पहिरो, मुआब्जा विवरण, १२ स्थानमा पैदलयात्रुका लागि आकाशे पुल र सल्लेटारस्थित माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलमा फ्लाइओभर ब्रिज (आकाशे पुल)को आवश्यकता देखिएसँगै योजनाको लगानी रु २० अर्ब लाग्ने निश्चित बनेको छ । योजनाअन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका १६ वटा पुलको प्रगति ५० प्रतिशत छ ।

0Shares