राष्ट्रिय

गैँडा गणना चैत १० गतेदेखि

0Shares

भरतपुर — यस वर्षको गैँडा गणना यही चैत १० गतेदेखि हुने भएको छ । राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्‍जले गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको छ ।    

यसका लागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्‍जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए। तालीममा निकुञ्‍जका कर्मचारी, हात्तीसार, राष्ट्रिय प्रकृति संरक्षण कोषका १०० को सहभागिता रहने उनले बताए। संरक्षण अधिकृत उप्रेतीका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा गणना गरिनेछ । गैँडा गणना गर्न चैत महिना राम्रो हुने बताइएको छ ।

गैँडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ । गर्मी बढेपछि हात्ती थाक्‍ने भएकाले चैत महिनाभित्रै गैँडा गणना गर्नु राम्रो मानिन्छ । नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्‍जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटाकासहित ६सय ४५ गैँडा थिए । चितवन सहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको वासस्थान छ ।


पछिल्लो गैँडा गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा चितवनका गैँडा स्थानान्तरण गरिएको थियो । यसले पनि गैँडाको सङ्ख्या वृद्धि हुनसक्‍ने अनुमान गरिएको छ ।

सन् २०१५ को गणनापछि चोरी शिकारबाट मर्ने गैँडाको सङ्ख्या नगन्य छ । प्राकृतिक कारणले मर्नेको सङ्ख्या भने उकालो लागिरहेको छ ।

Source:Ekantipur.com

0Shares