गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आजदेखि बन्द
अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ ।
सडक स्तरोन्नति गर्न सन्धिखर्कको घुम्तीदेखि भुवनपाटासम्मको आठ किमी सडक दैनिक नौ घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न लागिएको सडक बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म बन्द गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।
अत्यधिक घुम्ती र साँघुरो सडकका कारण यो क्षेत्र ‘डेन्जर जोन’ का रुपमा परिचित छ । दोहोरो यातायात आवतजावत गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको यो सडकखण्डको मध्यभागदेखि १५–१५ मिटर छोडेर घर बनाउन सडक डिभिजन शिवपुर कपिलवस्तुले आग्रह गरेको छ ।
वैकल्पिक मार्गका रुपमा सन्धिखर्क–सालझण्डी सडक, घुम्ती–तानसेन सडक र धनचौर–अमराई सडकको प्रयोग गर्न सकिने पनि बैठकले निर्णय गरेकोे छ ।अर्घाखाँचीबुलेटीन.कममा प्रकासित समाचार