राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला का लागि सहयोग गर्न आग्रह

0Shares

काठमाडौ,फागुन २०: गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला समयमै निर्माणका लागि एकपटक सहयोग गरिदिन सीताराम कट्टेल (धुर्मुस)ले आग्रह गरेका छन् । ७७ वटै जिल्लाबाट नागरिकले आफ्नो सम्पत्ति सम्झिएर रंगशाला निर्माणका लागि मन खोलेर सहयोग गरिदिन उनको आग्रह छ ।
हालसम्म रंगशाला निर्माणका लागि ३२ करोड रुपैयाँ सहयोग आएको तर खर्च ४३ करोड भइसकेको उनको भनाइ छ । “अहिलेसम्म सहयोगी मनहरुले ३२ करोड रुपैयाँ सहयोग गर्नुभएको छ । तर, खर्च ४३ करोड भइसकेको छ,” सीताराम भन्छन्, “११ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यो परियोजना समयमै सक्नुपर्ने छ र सकिन्छ पनि । तर, यसका लागि तपाईंहरुले यो रंगशालालाई आफ्नो सम्झिएर आशीर्वाद दिनुपर्ने छ । मन खोलेर सहयोग गर्नुपर्ने छ
रंगशालामा ७७ जिल्लाको प्रतिनिधित्त्व गर्ने ७७ वटै कोठा रहेको भन्दै उनले सबै जिल्लाबाट सहयोगका लागि अभियान चलाएको खण्डमा सहयोग जुट्ने उनको विश्वास छ । सबै प्रदेशको स्तम्भ पनि रहेको बताउँदै प्रदेशबाट पनि अभियान सञ्चालन गरिनु आवश्यक रहेको सीतारामको भनाइ छ ।
“यो रंगशाला धुर्मुस–सुन्तलीको मात्रै होइन । यहाँ हाम्रो सम्पत्ति ठडिरहेको छैन । देशको सम्पत्ति ठडिरहेको छ,” सीताराम भन्छन्, “ठूलो सहयोग गर्नुपर्छ भन्ने छैन । १ रुपैयाँ, २ रुपैयाँ, ५ रुपैयाँ जति सहयोग गर्नुस् । नगद वा जिन्दसी सहयोग गरे पनि हुन्छ । मेरो सम्पत्ति बन्दै छ भनेर गक्षअनुसारको सहयोग गर्नुपर्ने छ । यसले खेलाडीहरुको यो मन्दिरमा आफ्नो अपनत्त्व पनि हुनेछ ।”
उनले सहयोगका लागि ‘आफ्नो कुर्सी’ अभियानमा जोडिनैपर्छ भन्ने नरहेको भन्दै आफ्नै तवरले पनि सहयोग गर्न सकिने स्पष्ट पारेका छन् । सहयोग जुटाएर समयमै निर्माण सम्पन्न गर्ने उद्देश्यले यो अभियान चलाइएको उनले बताए । निर्माणस्थलमै आएर परियोजना अवलोकन गरेको खण्डमा सहयोगका लागि अझ उत्प्रेरणा बढ्ने भन्दै उनले चितवनको रामपुर आउन पनि आग्रह गरेका छन् ।
सहयोग गर्नेहरुको नामावली राख्ने भन्दै पारदर्शीतामा शंका नगर्न धुर्मुस–सुन्तली फाउन्डेसनले आग्रह गरेको छ । केही शुभेच्छुक तथा शुभचिन्तकहरुले आईपीओ जारी गरेर सहयोग जुटाउन सुझाव दिए पनि नाफामुखी कम्पनी नभएकाले त्यसो नगरिने सीतारामले स्पष्ट पारे । “आईपीओ जारी गर्न नाफामूलक कम्पनीमा जानुपर्छ । यो निःसन्देह गैरनाफामूलक संस्था हो । त्यसैले यतातर्फ सोच्ने कुरा भएन,” उनले भने ।
कोरोनाको त्रासजस्तो अप्ठ्यारो परिस्थितिमा पनि निरन्तर काम गर्दै आएको भन्दै उनले निर्माणकार्य जारी राख्न उधारोमा निर्माण सामग्री लिएर काम गरिरहेका छन् । प्रतिबद्धता जनाएको ठूलो रकम नउठ्दा बक्यौता रहेको धुर्मुस–सुन्तली फाउन्डेसनले बताउँदै आएको छ । कोरोना महामारीका कारण पछिल्लो समय रंगशाला निर्माणमा सहयोग आउने क्रम केही कम भएको बताइन्छ ।

0Shares