राष्ट्रिय

चक्रवात यासको प्रभाव नेपालमा पनि पर्ने

0Shares

काठमाडौ,जेठ १३ : बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसममा पनि परिवर्तन हुने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी तीन दिन मुलुकका विभिन्न भूभागमा आंशिकदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । अहिले नेपालका प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ ।
गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ महाशाखाको अनुरोध छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै बस्तीनजिक बाढी, पहिरो र डुबान जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ । त्यस्तै पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई तुरुन्त फिर्ता बोलाउन पनि प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

0Shares