पुंजीबजार

चन्द्रागिरि हिल्स कम्पनीको विश्लेषण

0Shares

काठमाडौँ,चैत १६: दोस्रो बजारमा भर्खरै सूचिकृत कम्पनी हो चन्द्रागिरि हिल्स । गत ३३ कारोबार दिनदेखि कम्पनीको शेयर मूल्य लगातार बढ्दो क्रममा छ। गत बिहीबारको अन्तिम मूल्य अनुसार कम्पनीको प्रति कित्ता शेयर मूल्य दुई हजार ७९ रुपैयाँ पुगेको छ।यो कम्पनी टुरिजम इन्डस्ट्री भित्र पर्छ। यसले दैनिक कारोबार गर्नु पर्छ। लकडाउन अघि दैनिक १० हजार मानिस यहाँ जाने गरेका थिए भने यति बेला दैनिक एक हजार मानिस पनि त्यहाँ पुग्दैनन्। पहिले जति कोठा त्यहाँ बुक हुन्थे। यति बेला त्यसको १० प्रतिशत पनि बुकिङ छैन। लकडाउनको बीचमा त झनै ठप्पै प्राय थियो। त्यसको बारेमा कम्पनीले आफै स्पष्ट पारेको छ। उक्त विषय कम्पनीले लुकाएको छैन।शेयर निष्कासन गर्नु भन्दा अघि उसले निकालेको प्रसपेक्टसमा “हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड (१९ को महामारीबाट बच्न नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको कारणले यस कम्पनीका सबै सेवाहरू बन्द हुन गई आर्थिक कारोबार नभएको हुँदा आ.व. २०७६।०७७ को अन्तिम त्रैमासको आम्दानी शून्य रहेको छ। यसको प्रत्यक्ष असर कम्पनीको आगामी आर्थिक वर्ष २०७७÷०७८ को भाद्र मसान्तसम्म रहने गरी वित्तीय प्रक्षेपण गरिएको र त्यस पश्चात् पनि कोभिड १९ को प्रकोप कम नभएमा आगामी आ.व.मा कम्पनीको आम्दानीमा ठूलो असर पर्न सक्ने जोखिम रहेको छ” उल्लेख छ।भाद्र यता बिस्तारै कम्पनीले सेवा खोलेकाे छ तर पूर्ववत अवस्थामा पुगेकाे छैन । नेपालमा अझै पनि पर्यटन क्षेत्र पुरानै लयमा फर्किन दुई वर्ष लाग्ने अनुमान गरिएको छ। उसलाई मात्रै होइन सम्पूर्ण पर्यटन व्यवसायलाइ नै यति बेला समस्या छ। त्यही भएर पर्यटन क्षेत्रलाई कोभिडको असरमा अति प्रभावित क्षेत्रको रुपमा सरकार र केन्द्रीय बैकले बर्गीकरण गरेका हुन्।अन्य पर्यटन क्षेत्रलाई उठ्न धौ धौ परिरहेको अवस्थामा उसलाई पनि त्यतिकै मुस्किल परिरहेको उसको वासलातले नै पुष्टि गर्छ । भोलिका दिनमा पनि कम्पनीले लाभांश दिन सक्ने क्षमतालाई पनि कम्पनीले लुकाएको छैन। कम्पनीको गत वर्ष प्रति शेयर आम्दानी ०.६ रहेको थियो। चालु वर्ष १२.६७ नकारात्मक हुने भनेको छ भने आउने वर्ष चार रुपैयाँ हुने भनेको छ। नाफाका हिसाबले कम्पनीले आउने वर्षसम्म नाफा गर्न नसक्ने पहिले नै प्रक्षेपण गरेको छ। गत वर्ष उसको घाटा तीन करोड ३० लाख रुपैयाँ थियो भने चलु वर्ष बढेर २० करोड ४१ लाख पुग्ने भनिएको छ भने आउने वर्ष उसको घाटा झरेर १४ करोड रुपैयाँमा सीमित हुने भनिएको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि नाफामा जाने भनेको छ। यति बेला घाटामा गएर बैक व्याज र साँवा समेत तिर्न नसकेको कम्पनीले त्यस वर्ष पनि आएको नाफाबाट पहिले ऋण र ब्याजलाई प्राथमिकता दिनु पर्ने छ। चुक्ता पूँजी एक अर्ब ५३ करोड रहेको कम्पनीले दुई अर्ब २० करोड रुपैयाँ सानिमा बैंकबाट कर्जा लिएको छ।सर्वसाधारणले पर्यटन क्षेत्रमा आउने सुधारले पनि अझै केही वर्ष लाभांश खान पर्खनु पर्छ भन्ने सङ्केत गरिरहेको छ। यस्तो अवस्थामा भर्खरै साधारण शेयर जारी गरेको कम्पनीको मूल्य यति माथि जानुलाई सर्वसाधारण र स्वयं कम्पनीमा आबद्ध लगानीकर्ताले पनि गम्भीरतापूर्वक लिन थालेका छन्। अहिले जसरी चन्द्रागिरिको मूल्य बढी रहेको छ। त्यसले शेयर बजारले जुन मेकानिजमा काम गर्नु पर्ने हो त्यसले पूर्ण रुपमा काम गर्न सकिरहेको छैन। जसरी यति बेला मूल्य बढी रहेको छ। त्यो कहिले सम्म रहने हो भन्ने महत्त्वपूर्ण कुरा हो। “बढ्दो बजारमा कुनै न कुनै दिन त शेयर बिक्री गरेर मानिस बाहिरिन्छ। तर अन्तिममा शेयर किन्ने मानिस बजारमा पक्का फस्छ। तर त्यो फस्ने मानिस को हुन्छ भन्दा नयाँ लगानीकर्ता,सिधा लगानीकर्ता वा साना लगानीकर्ता बढी हुन्छन्” लगानीकर्ता प्रकाश तिवारीले भने।हुन त शेयर बजारमा शेयरको मूल्य यति नै हो भनेर कसैले ग्यारेन्टी गर्न सक्दैन। किनकि कुनै पनि शेयरको मूल्य बजारले तय गर्ने हो। जबसम्म बजारले अधिक मूल्य कायम गरिरहन्छ त्यसको सही मूल्य त्यही हो। “बजारले मूल्य तय गर्दै गर्दा यति बुझ्न चाहिँ जरुरी हुन्छ कि बजारमा कति कित्ताको कारोबारले मूल्य कायम गरिरहेको छ। के त्यो प्रतिस्पर्धी मूल्य हो ? मूल्य कायम हुँदै गर्दा कम्पनीकाे वासलातले सपोर्ट गर्छ कि गर्दैन। थोरै कित्ता भएर कसैले कर्नरिङ् पो गर्दै छ कि ? नेचुरल मूल्य हो कि निर्धारण गरिएको मूल्य हो। त्यो बुझ्न जरुरी हुन्छ” तिवारीले भने।यी कुरा बेलैमा लगानीकर्ताले बुझ्न जरुरी छ। लगानीकर्ताले बुझेनन् भने पनि नियामकीय निकायले पनि यस विषयमा बुझाउन जरुरी हुन्छ। किनकि यस्ता खालका अवस्थाको बारेमा चेतना जगाउने काम नियामकीय भूमिकामै पर्छ। उसले सकेसम्म सर्बसधारणलाई शेयर किन्दा हेर्नु पर्ने साधारण कुराको जानकारी दिन सक्नु पर्छ। उसको दायित्व पनि हो। सानो र ठुलो कम्पनीमा लगानीकर्ताले शेयर किनबेच गर्दा कस्ता कुरामा ध्यान दिनु पर्छ भन्ने कुरा पनि बुजाउनु पर्छ। सकिन्छ भने सानो र ठूलो कम्पनीको कारोबार नै अलग्याउनु पर्ने तिवारीको भनाई छ।

0Shares