राष्ट्रिय

चेलीबेटी बेचविखन गर्ने दलालका लागि पूर्वी नाका ‘सेफ जोन’

0Shares

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेसँगै चेलीबेटी बेचविखन गर्ने गिरोह पूर्वी नाकातर्फ सक्रिय हुन थालेको छ ।

दलालहरुले विराटनगरको रानी र काकडभिट्टा नाकालाई सेफ जोनका रुपमा प्रयोग गर्न थालेपछि प्रहरी र गैरसरकारी संस्थाको निगरानी पनि बढ्दै गएको हो ।

एक साताअघि मानव तस्कर गर्ने गिरोहले सिन्धुपाल्चोक मेलम्चीकी रञ्जना तामाङ र फुलमायालाई विराटनगरको रानी नाकाबाट खाडी मुलुक पुर्‍याउन लागेको थियो ।

तर सीमा पार गर्ने क्रममा के आई नेपाल नामक संस्थाले उनीहरुलाई उद्धार गर्‍यो ।

मानव बेचविखनमा संलग्न गिरोहको एक समूहले पाँच दिनअघि धादीङ्गकी १९ वर्षीया मन्दिरा सुनुवारलाई कोलकत्तामा काम लगाइदिने भन्दै रानी नाकामा पुर्‍याएको थियो ।

माइती नेपालले मन्दिरालाई नाकाबाटै उद्धार गर्न सफल भयो । यी दुई घटना त प्रतिनिधि घटना मात्र हुन् ।

दलालहरुले अनेकौँ रुट प्रयोग गरी नेपाली महिलालाई खाडि मुलुक पुर्‍याइरहेको उद्धार गरिएका महिलाको भनाइ छ ।

पछिल्लो १३ महिनामा मात्रै २ सय ९४ जना  नेपाली चेलीलाई रानी र काकडभिट्टाबाट सीमा नाकाबाट उद्धार गरेको छ ।

माइती नेपालले सिमानाकाबाट उद्धार गरेका चेलीहरु अधिकांश पश्चिम नेपालका रहेका छन् ।

उनीहरुलाई विभिन्न प्रलोभनमा पारी भारतका विभिन्न ठाउँमा बेच्ने गरेको माइती नेपाल कार्यालय मोरङका संयोजक विनोद पोखरेलको भनाइ छ ।

सरकारले घरेलु कामदार रूपमा खाडी मुलुक जान नेपाली महिलालाई बन्देज गर्दै त्रिभुवन विमानस्थलबाटै कडाइ गरेसँगै दलालहरुले स्थलमार्गको प्रयोग गर्न थालेका हुन् ।

पछि दलालले सडकमार्गको विकल्प प्रयोग गरेका हुन् । महिला तस्करीका घटना बढेसँगै प्रहरीले पनि यस क्षेत्रमा निगरानी बढाएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता सुमन कुमार तिमिल्सिना बताउँछन् ।

दलालहरुले नेपाली चेलीहरुलाई भारतको आसाम, मणिपुर, मिजोरम, म्यानमार, श्रीलंका हुँदै खाडी मुलुक पुर्‍याउँदै आइरहेका छन् ।

यस्ता घटनाबाट सचेतना जगाउनुका साथै निगरानी पनि बढाउनुपर्ने देखिन्छ ।

Source:Imagekhabar.com

0Shares