खेलकुद

च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

0Shares

काठमाडौ,जेठ १६ : च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्गलिश क्लब चेल्सीले जितेको छ । पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इङ्गलिश क्लब म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । खेल शुरु भएको ४२ मिनेटमा चेल्सीलेअग्रता लियो । चेल्सीका लागि काइ हभार्ट्जले गोल गरे । उनले मासन माउन्टले दिएको पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए । यसअघि चेल्सीले सन् २०१२ मा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यतिबेला चेल्सीले जर्मन क्लब वायर्न म्युनिखलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो ।
सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन सिटी भने पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । पहिलो पटक च्याम्पियन्स लिग जितेर इतिहास बनाउने सिटीको लक्ष्य भने पूरा हुन सकेन । खेलको पहिलो हाफमा चेल्सीका डिफेन्डर थियागो सिल्भा घाइते भएका कारण मैदान छाड्न बाध्य भएका थिए । उनको स्थानमा चेल्सीले क्रिस्टिन्सन मैदान छिराएको थियो । दोस्रो हाफमा सिटीका प्लेमेकर केभिन डि ब्रुइन घाइते भए । चेल्सीका एन्टोनियो रुडिगरले फल गर्दा उनी घाइते भएका थिए । त्यसपछि सिटीले गाब्रियल जेससलाई मैदान छिरायो । सिटीले दोस्रो हाफमा पेनाल्टीको अपिल गरेको थियो । चेल्सीका रीस जेम्सको हातमा बलले लागेपछि सिटीले पेनाल्टी अपिल गरे पनि पनि पाएन । खेलको ७३ मिनेटमा चेल्सीले अग्रता दोब्बर पार्ने सुन्दर मौका खेर फालेको थियो । पुलिसिकको प्रहार थोरैले बाहिरिएको थियो । दोस्रो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा सिटीका रियाद महारेजले बराबरी गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । उनको हाफ भली सर्ट आउट भएको थियो।पोर्चुगलको पोर्टोमा भएको च्याम्पियन्स लिगको फाइनलमा हारेसँगै सिटीले चेल्सविरुद्ध खेलेका पछिल्ला तीनै खेलमा पराजित भोग्न बाध्य भयो ।

0Shares